एसीसी यू–१६ इस्टजोन कप : उपाधि जितका लागि नेपालले पायो ११४ रनको लक्ष्य

असार २१, २०८२

कान्तिपुर संवाददाता

ACC U-16 East Zone Cup: Nepal got a target of 114 runs to win the title

काठमाडौँ — मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले जितका लागि ११४ रनको सामान्य लक्ष्य पाएको छ । 

टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटियो । सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए । 

८४ बल खेलेका उनले २ चौका प्रहार गरे । यस्तै कप्तान रिहान नाइकले १५ रन बनाउँदा वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सिंगापुरलाई सस्तैमा समेट्नका लागि नेपालका अभय यादव र शुशिलबहादुर रावलले ३/३ विकेट लिए । शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए । 

बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँग उपाधि भीडन्त पक्का गरेको थियो ।

नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । 

समूहचरणमा नेपालसँग पराजित भएको सिंगापुरले बिहीबार हङहङलाई हराउँदै फाइनल खेल नेपालसँगै पक्का गरेको हो । नेपाल अघिल्लो संस्करणको उपाधि विजेता हो ।

कान्तिपुर संवाददाता

Link copied successfully