लिभरपुल — इंग्लिस च्याम्पियन लिभरपुलका पोर्चुगाली अन्तर्राष्ट्रिय खेलाडी डिएगो जोटाको बिहीबार दुर्घटनामा परेर स्तब्धपूर्ण निधन भएको छ । लिभरपुलका समर्थकले उनको प्रशंसा गर्नेक्रममा लुइस फिगोभन्दा पनि राम्रा खेलाडी भनेर भन्थे । उत्तरी लन्डनमा भएको गाडी दुर्घटनामा २८ वर्षीय जोटासँगै उनको भाइ आन्द्रेको पनि मृत्यु भएको छ ।
दुर्घटनापछि उनीहरू चढेको गाडीमा भीषण आगो लागेको थियो । पोर्टोको बाहिरी क्षेत्रमा रहेको पाकोस डे फेरेरा एकेडेमीका उत्पादित खेलाडी जोटाले इंग्लिस प्रिमियर लिगमा खेल्ने क्रममा ख्याति कमाएका थिए । सुरुमा एट्लेटिको म्याडिडले उनको प्रतिभा चिनेर सन् २०१६ मा अनुबन्ध गरेको थियो । तर, उनले एट्लेटिकोका लागि कहिले पनि खेलेनन् ।
त्यसपछि उनी ऋणमा पोर्टो गए । प्रिमियर लिगमा पोर्चुगाली खेलाडीको प्रभाव पर्न सुरु भएको पहिलो चरणका खेलाडीमा उनी पर्छन् । सुपर एजेन्ट मानिएका जोर्गे मेन्डिससँगको सम्बन्धका कारण उनी त्यति बेला दोस्रो डिभिजनमा रहेका उल्भससँग जोडिएका थिए । उल्भसमा तीन सिजन बिताएयता जोटाकै खेलको मदतमा उल्भस च्याम्पियनसिप लिगबाट युरोपा लिगको क्वाटरफाइनल पुग्ने टिम बनेको थियो ।
त्यही प्रदर्शनका कारण उनी लिभरपुलको नजरमा परे । क्लबले ६ करोड २० लाख डलरमा उनलाई उल्भसबाट अनुबन्ध गरेको थियो । सन् २०२० मा कोरोना भाइरस महामारी चलिरहेका बेला लिभरपुलले उनलाई किनेको हो । ‘अद्वितीय खेलाडी, अद्वितीय व्यक्तित्व,’ लिभरपुलका पूर्व प्रशिक्षक योर्गन क्लोपले एनफिल्ड आएयता जोटाको प्रशंसा गरेर भनेका थिए, ‘लिभरपुल टिममा हुन चाहिने सबै प्रकारका गुण उनमा छ ।’
जोटाको सम्झनामा एनफिल्डमा समर्थकको श्रद्धाञ्जली । तस्बिर : एपी/रासस
लिभरपुल आएयता उनले आफ्नो उपयोगिता प्रमाणित गर्न समय लगाएनन् । आफ्नो सुरुआती चार खेलमै गोल गर्ने उनी क्लब इतिहासकै पहिलो खेलाडी बने । कोरोना महामारी सकिएयत रंगशालामा दर्शक फर्कन थालेपछि उनको लोकप्रियता अझ बढ्यो । त्यही बेला लिभरपुल समर्थकले लुइस फिगोभन्दा पनि राम्रा खेलाडी भनेर उनको समर्थनमा नारा लगाउने गर्थे ।
फिगोले आफ्नो खेल जीवनमा रियल म्याड्रिड र बार्सिलोना दुवैका लागि खेलेका थिए । लिभरपुलले सन् २०२१–२२ मा लिग कप र एफए कप जित्दाका प्रमुख खेलाडी थिए । त्यति बेला लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जित्ने अवसर भने नजिकै पुगेर गुमाएको थियो । उनले लिभरपुलका लागि १ सय ८२ खेल खेले र त्यसमा ६५ गोल गरे ।
त्यसमध्ये उनको अन्तिम गोल अप्रिलमा एभरटनविरुद्ध मर्सिसाइड डर्बीमा थियो । त्यही खेलपछि लिभरपुल कीर्तिमान २०औं लिग उपाधि नजिक पुगेको थियो । तर लिभरपुलको इतिहासमै फेरि एकपल्ट दुःख आइपरेको छ । आफ्ना असाध्यै राम्रा खेलाडी गुमाएको छ । लिभरपुलले लिग जितेको खुसी मनाउने क्रममा आयोजित ट्रफी परेडमा पनि जोटा सहभागी भएका थिए । जोटाको मृत्युको समाचार आएपछि समर्थकले एनफिल्डमा सर्ट, स्कार्फ र फूलको गुच्छा श्रद्धान्जली प्रकट गर्दै चढाएका छन् । त्यो त्यही स्थान रहेको छ, जहाँ सन् १९८९ को हिल्सबर्ग दुर्घटनामा परेर मृत्यु भएका ९७ जनाको स्मारक बनाइएको छ ।
उनको पोर्चुगाली टिमका साथी खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि श्रद्धान्जली पोख्दै जोटाको निधनमा दुःख र अविश्वास पोखेका छन् । उनले भनेका छन्, ‘जोटाको मृत्युको कुनै तर्क नै हुन सक्दैन । डिएगो र आन्द्रेको मृत्युमा हार्दिक श्रद्धान्जली छ । उनीहरूलाई हामी बिर्सेन छैनौं ।’ रोनाल्डो र पोर्चुगलका लागि ४९ क्याप जितेका जोटासम्मिलित टिमले पछिल्लो महिना मात्रै नेसन्स लिग जितेको थियो ।
जोटाले आफ्ना लामो समयका प्रेमिका रुट कारडोसासँग दुई साताअगाडि मात्रै विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् । लिभरपुलले जोटाको मृत्युलाई अकल्पनीय क्षति भनेको छ ।
