कास्की र स्याङ्जा फाइनलमा

असार २०, २०८२

कान्तिपुर संवाददाता

Kaski and Sanja in the final

पोखरा — गण्डकी प्रदेश दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा पुगेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भएको प्रतियोगितामा शुक्रबार लिग चरणका खेल सकिएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

पोखरामा स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराएर फाइनल यात्रा तय गर्‍यो । कास्की शीर्ष र स्याङ्जा दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । कास्की ३ खेलमा अपराजित भएर ६ अंक बटुल्न सफल भयो । स्याङ्जाले २ जित पाएको थियो । नवलपुर र र पर्वत पुछारमा रहे ।

स्याङ्जाले ५७ रनको लक्ष्य ८.४ ओभरमा २ विकेट गुमाई लक्ष्य पूरा गर्‍यो । सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिए । सलिनाले २ चौका र श्रेयाले १ चौका प्रहार गरे । ज्योत्सनिका मरासिनी ५ र सिमाना केसी शून्यमा नटआउट रहे । नवलपुरबाट आयुशा चापागाईं र लिजा गुरुङले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नवलपुर १५.३ ओभरमा ५६ रनमा अलआउट भयो । धनकुमारी क्षेत्रीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उनले २ चौकामा १७ रन बनाइन् । मोनिका लामिछाने ६, श्रेया गिरी १, श्रेया शर्मा ७, आयुशा चापागाईं २, लिजा गुरुङ ४ रन बनाए । यमुना पंगेनी शुन्य, पूर्णिमा सुनार, निहारिका शर्मा र वर्षा सुनार शुन्यमै आउट भए । स्याङ्जाबाट सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले २–२ विकेट लिए ।

अर्को खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको थियो । १ सय २४ रनको विशाल लक्ष्य पाएको पर्वत २८ रनमा अलआउट भयो । १०.१ ओभरमा खेलेको पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । कास्कीका सोनिमा पुन मगरले ३ र यशोदा भुजेलले २ विकेट लिए ।

त्यसअघि टस जितेको कास्कीले २० ओभरमा ५ विकेट गुमाएर १ सय २३ रन बनायो । सिजर्ना पौडेलले ४१ रन रन जोडिन् । उनले ५३ बलमा ३ चौका प्रहार गरिन् । विनिता नेपालीले १७ रन बनाइन् । पवर्तबाट जीविका क्षेत्रीले ३ विकेट, प्रतिभा खड्का र सुशीला भट्टराईले १–१ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully