बेलायती वाइल्डकार्ड डान इभान्सलाई ६–३, ६–२, ६–० ले पराजित गर्दै विम्बल्डनको तेस्रो राउन्डमा
लन्डन — सर्बियाली नोभाक जोकोभिचले बिहीबार बेलायती वाइल्डकार्ड डान इभान्सलाई ६–३, ६–२, ६–० ले पराजित गर्दै विम्बल्डनको तेस्रो राउन्डमा पुग्दै कीर्तिमानी २५ औं ग्रान्ड स्लामका लागि आफ्नो दाबेदारिता बलियो बनाएका छन् ।
सेन्टर कोर्टमा इभान्सलाई हराउन जोकोभिचलाई केवल एक घण्टा ४७ मिनेट खर्चेका थिए । छैटौं वरीयताका जोकोभिचले अघिल्लो खेलमा एलेक्जान्द्रे मुलरविरुद्ध चार सेटको जितमा पेटको समस्यासँग संघर्ष जुध्नुपरेको थियो । त्यसका लागि उनले औषधि लिनुपरेको थियो । जोकोभिचले त्यसलाई ‘चामत्कारिक चक्की’ नै मानेका थिए ।
सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले भने, ‘मैले यसको आनन्द लिइरहेको छु । यो कोर्टले मलाई धेरै दिएको छ । विम्बल्डनको मेरो हृदयमा विशेष स्थान छ । यहाँ बनेका कुनै पनि इतिहास विशिष्ट छ ।’ जोकोभिचले ९९ औं विम्बल्डन खेल जितेका छन् । उनी जोकोभिच टेनिस इतिहासमा सबैभन्दा सफल खेलाडी बनेर आफ्नो करियर टुंग्याउने सपना देखिराखेका छन् । ३८ वर्षीय उनले २०२३ को यूएस ओपन जितेयता ग्रान्ड स्लाम जितेका छैनन् । त्यो उनको २४ ग्रान्ड स्लाम उपाधि थियो । उनले मार्गरेट कोर्टसँग २४ ग्रान्ड स्लामको उपाधिसँग बराबरी गरेका छन् ।
स्पेनका कार्लोस अल्काराजसँग पछिल्लो दुई विम्बल्डन फाइनल हारेका जोकोभिच यसपालि इतिहास रच्ने मुडमा छन् । भन्छन्, ‘मलाई इतिहासबारे थाहा छ । म यस प्रतियोगितामा गर्न सक्ने सबै ठूला कुराबारे सोचिरहेको छु ।
अघिल्लो दिन विम्बल्डनको साहसिक यात्रा कायम राख्दै डिफेन्डिङ च्याम्पियन अल्काराजले ब्रिटिस एमेच्योर ओलिभर टार्भेटलाई सोझो सेटमा हराएर तेस्रो चरण यात्रा गरेका थिए ।
यसपल्ट अल इंग्ल्यान्ड क्लबमा पहिलो राउन्डमै शीर्ष वरीयताका खेलाडीको बाहिरिने क्रम तीव्र गतिमा रहेको छ । पुरुष र महिला एकलमा शीर्ष १० वरीयताका ८ खेलाडी पहिलो राउन्डमै पराजित भएका छन्, जुन संख्या ग्रान्ड स्लाममा सबैभन्दा धेरै हो ।
सेन्टर कोर्टमा दोस्रो राउन्डको झट्काबाट अल्काराज र महिला विश्व नम्बर एक आर्यना सबालेन्का बच्न सफल भएका हुन् । अल्काराजले विश्व नम्बर ४२४? औं वरीयताका टार्भेटलाई पराजित गर्न २ घण्टा १७ मिनेट लगाए । उदीयमान प्रतिभा टार्भेटबारे अल्काराजले भने, ‘सबैभन्दा पहिले ओलिभरको ठूलो प्रशंसा गर्छु । इमान्दारीपूर्वक भन्नुपर्दा मलाई उनको खेल मनपर्यो । थाहा थियो मैले उत्कृष्ट टेनिस खेल्नुपर्छ । आफ्नो प्रदर्शनबाट खुसी त छु नै उनलाई पनि ठूलो प्रशंसा छ ।’
अल्काराजले विम्बल्डनमा पछिल्ला २० खेल जितेका छन्, जुन उनको उत्कृष्ट प्रदर्शन हो । यसले उनलाई रोम मास्टर्स, फ्रेन्च ओपन र क्विन्स क्लबको उपाधि दिलाएको छ ।
गत महिना रोलान्ड ग्यारोसमा भएको फाइनलमा यानिक सिन्नरलाई हराएका २२ वर्षीय खेलाडीले घाँसे मैदानमा आफ्ना ३४ टुर–लेभल खेलमध्ये ३१ जितेका छन् । विम्बल्डनमा उनको अन्तिम हार २०२२ मा चौथो राउन्डमा सिन्नरसँग नै भएको थियो ।
दोस्रो वरीयताका अल्काराज भने वियोन बोर्ग, पिट साम्प्रास, रोजर फेडेरर र सात पटकका च्याम्पियन नोभाक जोकोभिचपछि लगातार तीन पटक विम्बल्डन जित्ने पाँचौं खेलाडी बन्ने दौडमा छन् । सान डिएगो विश्वविद्यालयका विद्यार्थी २१ वर्षीय टार्भेटले पहिलो राउन्डमा लियान्ड्रो रिडीलाई हराएपछि मुख्य ‘ड्र’ मा अल्काराजविरुद्ध खेलिरहेका थिए । ‘यो साँच्चै विशेष थियो । हरकोहीले संसारकै सबैभन्दा राम्रो खेलाडीविरुद्ध खेल्न पाउने हुँदैन । मैले त्यो क्षणको आनन्द लिने र केही राम्रो टेनिस खेल्ने प्रयास गरें,’ टार्भेटले सुनाएका थिए ।
महिलातर्फ शीर्ष खेलाडी बाहिरिने सूचीमा गत वर्षकी उपविजेता इटालियन जस्मिन पाउलिनी रहिन् । गत वर्षकी उपविजेता उनी बुधबार अबेर रुसी खेलाडी कमिला राखिमोभाको सिकार भइन् । अल इंग्ल्यान्ड क्लबको फाइनल पुगेको १२ महिनापछि पाउलिनी ग्रास–कोर्ट ग्रान्ड स्लामबाट पहिलो चरणमै बाहिरिइन् ।
महिला एकलमा शीर्ष ५ वरीयताप्राप्तमध्ये चार खेलाडी प्रतियोगिताको तीन दिनमै बाहिरिएका छन् । दोस्रो वरीयताकी कोको गौफ, तेस्रो वरीयताकी जेसिका पेगुला र पाँचौं वरीयताकी झेङ किन्वेन पहिलो चरणमै पराजित भए । पाउलिनी चौथो वरीयताकी दोस्रो खेलबाट बाहिरिएकी हुन् । बाँकी शीर्ष पाँच वरीयताकी खेलाडीमध्ये अन्तिम विश्व नम्बर एक सर्बियाली सबालेन्कामात्र हुन् । उनले दोस्रो खेलमा चेक गणतन्त्रकी मारी बोउज्कोभाविरुद्ध जित पाएकी थिइन् ।
२०२४ को विम्बल्डनको फाइनलमा बारबोरा क्रेज्सिकोभाबाट पराजित पाउलिनी कोर्ट ३ मा २ घण्टा १८ मिनेट प्रतिस्पर्धा गर्दै रुसी प्रतिद्वन्द्वको हातबाट ४–६, ६–४, ६–४ ले पराजित भइन् । पाउलिनीले भनिन्, ‘यो कठिन खेल थियो । अझै म दोस्रो सेटबारे सोचिरहेको छु । मैले धेरै राम्रो गर्न सक्थें । धेरै अवसर पनि थिए, तर केही गल्तीहरू आफैंले गरें ।
गत वर्ष फ्रेन्च ओपन र विम्बल्डन फाइनलमा पुगेपछि पाउलिनी पछिल्लो चार ग्रान्ड स्लाममा क्वाटरफाइनल पुग्न असफल भएकी छन् । यद्यपि उनले फ्रेन्च ओपनको डबल्समा भने उपाधि जितेकी थिइन् ।
