परिमार्जनको अर्धशतकमा मलेसियामाथि ९ विकेटको जित, नेपाल फाइनलमा

असार १९, २०८२

कान्तिपुर संवाददाता

9-wicket victory over Malaysia in half-century of revision, Nepal in the final

काठमाडौँ — नेपाली युवा क्रिकेट टोली मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ओपनर परिमार्जन यादवको उत्कृष्ट अर्धशतकमा मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पक्का गरेको हो ।

पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा १ विकेट मात्र गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि ओपनर परिमार्जन यादवले शानदार अर्धशतक प्रहार गरे । ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रन बनाए । 

तेस्रो नम्बरमा आएका शिवांश बजगाईंले पनि पाँच चौका प्रहार गर्दै अविजित २३ रन बनाए । त्यसअघि ओपनर प्रशिद्ध जैशी १६ बल खेल्दै मात्र दुई रनमा आउट भएका थिए । 

बलिङमा मलेसियाका लागि नागिश्वरण सथकुमारनले १ विकेट लिए । त्यसअघि टस हार्दै मेलेसियाले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै मात्र ९० रन बनाएको थियो । 

समूह ‘ए’को विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । मलेसिया भने समूह ‘बी’बाट उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भीडन्त पक्का गरेको थियो ।

मलेसियाका लागि मुहम्मद दानिस अदलेयनले सर्वाधिक ३८ रन बनाए । ७१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीज पात्रोले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक चार विकेट लिए । १० ओभरमा उनले १५ रन खर्चिए । यस्तै शुभम खनालले १० ओभरमा १२ रन खर्चिँदै ३ विकेट लिए । कप्तान विपिनप्रशाद शर्मा र सचिन भट्टले एक/एक विकेट लिए । अर्को सेमिफाइनल खेल हङकङ र सिंगापुरबीच जारी छ । 

कान्तिपुर संवाददाता

Link copied successfully