रौनकको कीर्तिमान

असार १८, २०८२

मनोज पौडेल

Raunak's record

कपिलवस्तु — रौनक श्रीवास्तवले नेपालको उमेर समूहको क्रिकेट इतिहासमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोरको कीर्तिमान बनाएका छन् ।

नेपालको  घरेलु प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेर नाम कमाएका रौनकले  मंगलबार एसिसी यू–१६ इस्टजोन कपमा अर्को उत्कृष्ट ब्याटिङ गरेर सनसनी मच्चाए । 

कृष्णनगर नगरपालिका–१ मडहाका १५ वर्ष ८ महिना पुगेका रौनकले अन्तर्राष्ट्रिय उमेर समूहको खेलमा विष्फोटक ब्याटिङ गर्दै मंगलबार भुटानविरुद्ध १६८ रन बनाए । उनले १३२ बल खेलेर ५ छक्का र १६ चौका छक्का प्रहार गरी विशाल स्कोर बनाए । यो नेपाली खेलाडीले कुनै पनि स्तरको अन्तर्राष्ट्रिय खेलमा बनाएको व्यक्तिगत उच्च स्कोर हो । 

यसअघिको उच्च स्कोरको कीर्तिमान अर्जुन कुमालको नाममा थियो । उनले सन् २०२३ मा एसिसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।

रौनकले यसअघि सुर्खेतमा जेठ तेस्रो साता आयोजित घरेलु टीबी शाह मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेटमा दोहोरो शतक प्रहार गरेर कीर्तिमान बनाएका थिए । सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा गण्डकीविरुद्ध रौनकले २१७ रन बनाएका थिए ।

उनले त्यतिबेला ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरेर दुर्लभ कीर्तिमान रहेको थिए । यो नेपालको घरेलु क्रिकेटको पहिलो दोहोरो शतक र सर्वाधिक व्यक्तिगत रन हो । उनका पिता अशोक श्रीवास्तवले छोराले विदेशमा गएर नेपालको नाम उच्च बनाएकामा निकै खुसी लागेको बताए ।

राष्ट्रिय टोलीका अलराउन्डर बसिर अहमदको समन्वयमा जिल्ला, प्रदेश हुँदै रौनक अन्तर्राष्ट्रिय स्तरका लागि छानिएका थिए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully