एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा

असार १८, २०८२

कान्तिपुर संवाददाता

NOC 30 and Ministry 31 games in Juhari

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अर्को वर्ष हुने २० औं एसियाली खेलकुदका लागि ३० खेल दर्ता गरेको औपचारिक जानकारी गराएको छ । 

जापानको आइची/नायोगामा २०२६ को एसियाडका लागि खेल दर्ताको अन्तिम समयसीमा सोमबार (जुन ३०) सम्म मात्र थियो । एनओसीले मंगलबार पत्रकार सम्मेलनमार्फत युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समयमै पत्राचार गरे पनि कुनै जवाफ नआएको र खेलाडीहरू एसियाड खेल्न वञ्चित नहोस् भन्ने मान्यतामा सबै राष्ट्रिय खेल संघहरूलाई सहभागी गराउन पत्राचार गरिएको जनाएको छ ।

ओलम्पिक चार्टर, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा रहेको व्यवस्थालाई ध्यानमा राखेर पत्राचार गरिएकामा ३० संघले दर्ताका लागि पत्र पठाएको एनओसी महासचिव राजीव श्रेष्ठले बताए ।

ओलम्पिक काउन्सिल अफ एसिया र स्थानीय आयोजक जापानले तोकेअनुसारको समयसीमाभित्र दर्ता गराएका ३० खेलको सूचीमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, बेसबल तथा सफ्टबल, र्‍याफ्टिङ तथा क्यानोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोर्टस, गल्फ, हक्की, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबलटेनिस, भलिबल, भारोत्तोलन, कुस्ती र उसु छन् ।

एनओसीले पत्रकार सम्मेलन गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरी जापान एसियाडका लागि ३१ खेल दर्ता गरिएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा एकातिर प्रतियोगिता आयोजकबाट आधिकारिक सूची दर्ताका लागि पत्र प्राप्त नभएको भनेको छ भने अर्कोतिर प्रतियोगितामा सहभागी हुन चाहने ३१ खेलको सूची दर्ता सम्बन्धित निकायमा नियमानुसार गरिएको उल्लेख छ । 

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य कमल भट्टराईले खेलकुद मन्त्रालयको पहलमा जापान आयोजक समितिमा इमेलमार्फत् खेल दर्ता गरिएको र रिप्लाईसमेत आएको बताए । उनले सरकारबाट अवैध घोषित नेपाल ओलम्पिक कमिटीको कार्यलाई मान्यता दिन नसक्ने भएकाले मन्त्रालय आफैंले खेलको सूची दर्ता गरेको दाबी गरे ।

दुवैतर्फ दर्ता भएका खेल २२ वटा छन् । तेक्वान्दो, फुटबल, ट्रायथलन, जिम्न्यास्टिक, फेन्सिङ, सुटिङ, ह्यान्डबल, रोइङ र घोडचढी मन्त्रालयको सूचीमा मात्र रहेको छ भने आर्चरी, ब्रेकिङ, बेसबल, र्‍याफ्टिङ, कुराँस, पेन्टाथलन, स्केटबोर्ड र क्लाइम्बिङ मन्त्रालयको सूचीमा छैन । 

यसैबीच नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राखेप र एनओसीको पछिल्लो विवादले फेरि एक पटक खेलाडीहरू मारमा पर्ने सम्भावना बढेको जनाएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा खेलाडी मारमा पर्ने स्थितिले फेरि खेलकुदमा नेतृत्व गरिरहेका संस्था र पदाधिकारीको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने अवस्था आएको उल्लेख गरेका छन् । 

कान्तिपुर

Link copied successfully