खेलकुद पत्रकार मञ्च रुपन्देहीमा नयाँ नेतृत्व

असार १८, २०८२

सन्जु पौडेल

New leadership in Sports Journalist Forum Rupandehi

तिलोत्तमा — नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ ।

बुधबार बुटवलमा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए ।

समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सन्जु पौडेल रहेकी छन् । समितीको सदस्यहरुमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी निर्वाचित भएका छन् ।

कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा अण्डर १९ टोलीका प्रशिक्षक शक्ति गौचन तथा महिला भलिबलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको छ ।

कार्यक्रमको एक समारोहबीच नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोलकिपर मोतिकला गुरुङले उद्घाटन गर्दै रुपन्देहीमा गठित पत्रकार मञ्चले खेल क्षेत्रको प्रवर्द्धन गर्ने समाचार प्रकाशन गरी खेलप्रति रुचि जगाउनुपर्ने बताइन् । उनले विगतमा जस्तो खेल क्षेत्रका अवस्था नरहेकाले खेलकुदलाई शारीरिक एवम् मानसिक स्वास्थ्यको माध्यम मानी खेल्नुपर्ने जनाइन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully