कामपा २२ वडाका खेलाडीहरू सम्मानित

असार १८, २०८२

कान्तिपुर संवाददाता

Kampa 22 ward players honored

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा २२ ले बुधबार आफ्नो वडाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।

फुटबल, क्रिकेट, पौडी, चेस, बास्केटबल, कबड्डी, बडीबिल्डिङ, फेन्सिङ, तेक्वान्दो, कराते, फुटसल, स्नुकर, टेबलटेनिसका गरी कुल १ सय २७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित भएका छन् । त्यसमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने २८ जनालाई विशेष सम्मान गरिएको थियो ।

वडा २२ को आयोजना र नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिपका विजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो । १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले शारीरिक सुगठन विजेता खेलाडी र अन्य खेलाडीलाई कदरपत्र र ट्रयाकसुट प्रदान गरी सम्मानित गरे । पूर्व फिफा रेफ्री ज्ञानुराजा श्रेष्ठको संयोजकत्वमा रहेको छनोट टिमले सम्मानित हुने खेलाडी चयन गरिएको हो ।

वडा २२ मा ‘ए’ डिभिजन फुटबल खेलिसकेको चार क्लब संकटा, एनआरटी, ब्वाइज स्पोर्ट्स र सुन्धारा छन् ।

कान्तिपुर

Link copied successfully