सिन्नरले जित्दा जेसिका बाहिरिइन्

असार १८, २०८२

एएफपी

Jessica is eliminated when Sinner wins

लन्डन — शीर्ष वरीयताका यानिक सिन्नर मंगलबार विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् भने महिलातर्फ तेस्रो वरीयताकी अमेरिकी जेसिका पेगुलाले पहिलो खेलमै हार बेहोरेकी छन् । 

इटालियन डर्बी प्रतिस्पर्धामा सिन्नरले मंगलबार लुका नार्डीलाई सोझो सेटमा पराजित गरे । अत्यधिक गर्मीबीच विचलित नबनेका सिन्नरले कोर्ट वानमा ६–४, ६–३, ६–० को नतिजा निकालेका थिए ।

उनले आफ्नै देशका नार्डीलाई पन्छाउन १ घन्टा ४८ मिनेट खर्चेका थिए । सिन्नरले अल इंग्ल्यान्ड क्लब आफ्ना लागि विशेष ठाउँ भएको बताउँदै यहाँ फर्कन पाउँदा खुसी लागेको सुनाए । सुरुमै इटालियनसँग खेल्नुलाई दुर्भाग्यपूर्ण मानेका उनले अन्ततः त्यसबाट गुज्रनुपरेको बताए । 

महिलातर्फ जेसिकाले इटालीकी एलिसाबेटा कोसियारेटोसँग आफ्नोसोझो सेटको हारलाई वर्षको सबैभन्दा खराब नतिजा भनेकी छन् । कोर्ट २ मा विश्व नम्बर ११६ वरीयताकी एलिसाबेटाले जेसिकालाई ५८ मिनेटभित्र ६–२, ६–३ ले पराजित गरेकी थिइन् । यो हार २०२४ को यूएस ओपन फाइनल खेलेकी जेसिकाका लागि ठूलो धक्का थियो ।

३१ वर्षीया खेलाडी जेसिका आफ्नो दाहिने घुँडामा टेप बाँधेर उत्रिएकी थिइन् । ‘उनले अविश्वसनीय टेनिस खेलिन् । मलाई लाग्छ कि मैले उत्कृष्ट खेलेकी पनि होइन, त्यति नराम्रो खेलेको पनि थिइनँ तर उनको दिन थियो,’ पेगुलाले भनिन् ।

युएस ओपनको फाइनलमा आर्यना सबालेन्कासँग हारेपछि विश्व नम्बर तीन पेगुला त्यसपछि खेलेका तीनै ग्रान्ड स्लाममा क्वाटरफाइनलभन्दा अघि नै बाहिरिएकी छन् ।

चिनियाँ ओलम्पिक च्याम्पियन झेङ किन्वेनको विम्बल्डन यात्रा सुरुमै टुंगिएको छ । मंगलबार चिनियाँ ओलम्पिक च्याम्पियन झेङले विश्व नम्बर ८१ औं वरीयताकी काटेरिना सिनियाकोभासँग हार बेहोरिन् ।

झेङ लगातार तेस्रो वर्ष पहिलो चरणबाट बाहिरिइन् । उनी कोर्ट ३ मा दुई घन्टा २५ मिनेटमा चेक गणतन्त्रकी काटेरिनासँग ७–५, ४–६, ६–१ ले पराजित भइन् । झेङको छैटौं पटक ग्रान्ड स्लाम सहभागितामा चौथो पटक थियो तेस्रो चरणसम्म पुग्न सकिनन् । गत वर्ष यूएस ओपन र यस वर्षको फ्रेन्च ओपनमा क्वाटरफाइनलमा रोकिएकी थिइन् ।

झेङले पेरिसको माटो कोर्टमा ओलम्पिक स्वर्ण जित्दा डोना भेकिकलाई हराइएकी थिइन् । छैटौं स्थानमा रहेकी २२ वर्षीया उनले लन्डनको ग्रास कोर्टमा राम्रो प्रदर्शन गरिनन् । चिनियाँ स्टारले अल इंग्ल्यान्ड क्लबको चार भ्रमणमा कहिल्यै तेस्रो चरण पार गर्न सकेकी छैनन् ।

विम्बल्डनकी डिफेन्डिङ च्याम्पियन चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले फिलिपिन्सकी स्टार एलेक्जान्ड्रा इलालाई पराजित गरेकी छन् । पहिलो सेटमा गुमाएकी उनले सेन्टर कोर्टमा पुनरागमन गर्दै ३–६, ६–२, ६–१ को जित निकालेकी थिइन् ।

दुई पटककी ग्रान्ड स्लाम च्याम्पियन क्रेजसिकोभाले गत वर्ष फाइनलमा इटालीकी जस्मिन पाओलिनीलाई पराजित गरेपछि कठिन समय भोगेकी छिन् । २९ वर्षीया क्रेजसिकोभा ढाडमा चोट लागेपछि मे महिनासम्म कोर्टबाहिर थिइन् । फ्रेन्च ओपनको दोस्रो चरणमै हार बेहोरेकी थिइन् । यस वर्ष उनले ६ खेलमात्र खेलेकी छन् ।

गत साता तिघ्राको समस्याका कारण इस्टबोर्न ओपनमा क्वाटरफाइनल अगाडि नै बाहिरिएकी थिइन् । ‘मेरो ढाडमा धेरै दुखाइ थियो र करियर कस्तो हुने हो मलार्ई नै थाहा थिएन,’ क्रेजसिकोभाले भनिन्, ‘यहाँ विजयी हुन पाएकामा र यति राम्रो कोर्टमा खेल्न पाएकोमा धेरै खुसी र उत्साही छु ।’

एएफपी

Link copied successfully