द्वन्द्वबीच एसियाडका लागि खेल दर्ता

एसियाली खेलकुदबाट नेपाली खेलाडी वञ्चित हुँदैनन्, नेपालले खेल्ने खेलहरू दर्ता गर्छौं, एनओसी अध्यक्षले राजनीति गरेका हुन् : मन्त्री चौधरी

असार १६, २०८२

कान्तिपुर संवाददाता

Registration of games for Asiad between conflicts

काठमाडौँ — सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) को द्वन्द्वबीच अन्तिम समयमा ‘एसियाली खेलकुद–२०२६’ (एसियाड) का लागि खेलहरू दर्ता गरिएको छ ।

जापानको आइची–नागोयामा हुने एसियाडका लागि खेल दर्ता गर्ने अन्तिम दिन सोमबार (जुन ३०) सम्म थियो । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एनओसीबीच चर्केको द्वन्द्वले नेपालको सहभागिता अन्योलग्रस्त बनेको थियो ।

जुन ३० सम्म भाग लिने खेलको दर्ता गरिसक्नुपर्ने र अन्यथा खेलाडी सहभागी हुन नपाउने एनओसीले जनाउँदै आएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाबाट आयोजना हुने सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता एनओसीमार्फत् नै हुने गर्दछ ।

गत पुसमा सम्पन्न एनओसीको निर्वाचनपछि नेपाली खेलकुदका प्रमुख तीन निकायबीच तिक्ततापूर्ण स्थिति उत्पन्न भएको हो । सरकारले उक्त निर्वाचनलाई वैधानिकता दिएको छैन । त्यसले गर्दा मन्त्रालय र परिषद्ले एनओसीको कामकारबाहीलाई गैरकानुनी भन्नुका साथै सातदोबाटोस्थित एनओसी मुख्यालयमा तालाबन्दी गरिराखेको छ ।

ओलम्पिक कमिटीको निर्वाचनसम्बन्धी मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर एनओसीको उक्त निर्वाचनलाई आईओसीले भने मान्यता दिइसकेको छ ।

एनओसीलाई राष्ट्रिय खेलकुद परिषद्बाट आधिकारिक पत्र नगए पनि राष्ट्रिय खेल संघहरूले एसियाली खेलकुदका लागि दर्ता गर्न एनओसीमा पत्राचार गरेका छन् । सोमबार अबेरसम्म झन्डै ३० खेल दर्ता प्रक्रियामा आएको एनओसी स्रोतले जनाएको छ । संघका अध्यक्ष र महासचिवकै हस्ताक्षरमा दर्ताका लागि पत्र आइरहेको बताइएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीका कारण एसियाली खेलकुदमा खेल दर्ता गर्न ढिलाइ भएको दाबी गरे । चौधरीले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले राजनीतिक गरेका कारण केही समस्या देखिएको बताए ।

‘आज मात्र मैले खेल दर्ता नभएको जानकारी पाएँ । यसमा खेलकुद मन्त्रालयको तर्फबाट कमजोरी भएको छैन,’ उनले भने, ‘अवैधानिक ओलम्पिक कमिटीका कारण मात्र समस्या आएको हो ।’

मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवसँग खेल दर्ता गर्नेबारे छलफल भए पनि निष्कर्षमा नपुगेको बताउँदै मन्त्री चौधरीले एसियाडका लागि खेल दर्ता गर्नेबारे आवश्यक निर्देशन दिइसकेको बताए । एनओसीले सोमबार राति १२ बजेसम्म खेल सूची दर्ता नगरे मन्त्रालय आफैंले उपयुक्त बाटो खोज्ने मन्त्री चौधरीको भनाइ थियो । ‘मन्त्रालयले ओलम्पिक कमिटीसँग सम्पर्क गर्ने प्रयास गरिहेको छ । सरकारको तर्फबाट हामी सबै उपाय खोज्छौं,’ उनले भने, ‘एसियाली खेलकुदबाट नेपाली खेलाडी वञ्चित हुँदैनन्, नेपालले खेल्ने खेलहरू दर्ता गर्छौं ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पनि सबै खेलहरूलाई आ–आफ्नो तरिकाले एसियाली खेलकुदका लागि दर्तामा संलग्न हुन मौखिक निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘परिषद्को बोर्ड बैठक नबसेकाले एसियाडमा कुन खेलले भाग लिने, कुनले नलिने कुरै भएन । यो लङलिस्ट हो, पछि कुन खेलले भाग लिन्छ लिँदैन सरकारले निर्णय गर्ने नै छ । अहिले मौखिक रूपमा सबैलाई दर्ता गर्न भनेको छु ।’

कान्तिपुर

Link copied successfully