काठमाडौँ — नेपाल ओलम्पियन संघको चौथो साधारणसभाले दीपक विष्टलाई अध्यक्षमा निरन्तरता दिएको छ । चितवनमा आइतबार सम्पन्न साधारणसभाले तेक्वान्दोका दीपकको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गर्यो ।
दुई उपाध्यक्षमा बक्सिङका प्रवीण तुलाधर र जुडोकी देवु थापा, महासचिवमा एथलेटिक्सका राजेन्द्र भण्डारी, सचिवमा जुडोकी मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ चुनिएका छन् । सदस्यमा बक्सिङका विष्णुबहादुर सिंह, एथलेटिक्सका मुकुन्दहरि श्रेष्ठ, विमला रानामगर र राजकुमारी पाण्डे, सुटिङका टीकाराम श्रेष्ठ, भगवती केसी र फूलमाया क्याप्छाकी, ब्याडमिन्टनका प्रिन्स दाहाल र स्कीका सफलराम श्रेष्ठ निर्वाचित भए ।
बन्द सत्रले महासचिव राजेन्द्र भण्डारीले पेस गरेको वार्षिक र आर्थिक प्रतिवेदन पास गरेको थियो । स्कुल टु ओलम्पिकलाई निरन्तरता, ओलम्पियनहरूको विवरणसहितको पुस्तक र हरेक ओलम्पिकपछि पुनर्मिलन कार्यक्रम गरिने निर्णय पास गरेको छ ।
बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
गण्डकीले दुई बर्षयता प्रदेशका ओलम्पियनलाई मासिक ५ हजार भत्ता उपलब्ध दिँदै आएको छ । सुदूरपश्चिम प्रदेशले पनि प्रदेशका ओलम्पियनलाई भत्ता दिने घोषणा गरेको छ ।
सो अवसरमा सन् १९९२, १९९६ र २००० को ओलम्पिकमा भाग लिएका अनिता श्रेष्ठ, सीताराम शाही, विमला रानामगर, भगवती खत्री, ज्ञानबहादुर बोहोरालाई सम्मान गरिएको थियो । १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त सम्मान दिइएको थियो ।
उनीहरूलाई मुख्यमन्त्री लामा, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद् बागमती सदस्यसचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्टले सम्मान प्रदान गरेका थिए ।
