काठमाडौँ — काठमाडौं महानगरपालिका–४ ले शनिबार बालुवाटारमा आयोजना गरेको दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह विजेता भएका छन् । उनीहरूले ५ किलोमिटर खुलातर्फ सफलता पाए ।
विकेश २१ मिनेट २९ सेकेन्डबाट पुरुषतर्फ विजेता भए । अविनाश राई २१ मिनेट ३६ सेकेन्डबाट दोस्रो र अमृत गुरुङ २२ मिनेट ११ सेकेन्डबाट तेस्रो भए ।
महिलातर्फ ३५ मिनेट ५६ सेकेन्डमा रन्जुले सफलता पाइन् । अनुश्री प्रधानाङ्ग ३६ मिनेट २३ सेकेन्डबाट दोस्रो र मन्जु थापा ३९ मिनेट ३५ सेकेन्डबाट तेस्रो स्थानमा विजयी भए ।
विद्यार्थी (३ किमि) तर्फ छात्रमा राजेश शाही, राहुल तिरुवा र सुमन तामाङ तथा छात्रामा अनिता बुढामगर, महिमा राई र तृनिशा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
भेट्रानतर्फ ३ किमिको दूरीमा पुरुषतर्फ शिवजी श्रेष्ठ पहिलो, मिलन ढकाल दोस्रो र सुधांशु केसी तेस्रो भए । महिलातर्फ शान्ता ढकाल पहिलो, लक्ष्मी लम्साल दोस्रो र तिला खनाल तेस्रो भए ।
काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष दिनेश महर्जनका अनुसार तेस्रो पटक आयोजित दौडमा ३ सय बढी सहभागी भएका थिए । उनले वडावासी स्वस्थ रहोस् भनेर सुरु गरिएको दौड प्रतियोगिता बर्सेनि राम्रो भइरहेको बताए ।
