राजन र सन्तोषीले जिते वीर गणेशमान रोड रेस

असार १४, २०८२

कान्तिपुर संवाददाता

Rajan and Santoshi win the Veer Ganeshman Road Race

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले पाँचौं वीर गणेशमान सिंह १० किमि रोड रेसको उपाधि जितेका छन् ।

पुरुषतर्फ आर्मीका राजनले ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेका थिए । आर्मीकै खडकबहादुर खड्का ३१ मिनेट ५५ सेकेन्डबाट दोस्रो भए भने मुकेशबहादुर पालले ३२ मिनेट १२ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे । बागलुङका तीर्थ पुन चौथो र केन्याका जुलियस मुरियुकीले पाँचौं स्थानमा रहे ।

महिलातर्फ सन्तोषीले ३८ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन् । आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले ३९ मिनेट १९ सेकेन्डमा दोस्रो तथा एपीएफकी आशा रावतले ४० मिनेट २७ सेकेन्डमा तेस्रो स्थान हासिल गरेका थिए । एपीएफकी फूलमति राना ४० मिनेट २७.०१ सेकेन्डमा चौथो भइन् ।

दौड दरबारमार्गस्थित एडिडास शोरुमबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमै आएर टुंगिएको थियो ।

प्रतियोगितामा करिब ५ सय ५० खेलाडीको सहभागिता रहेको थियो । पुरुष तथा महिला दुवैतर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिता आयोजना गर्न करिब १५ लाख रुपैयाँ खर्च भएको वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले जनाएको छ ।

दौडको कोर्स रेकर्ड यसपालि पनि भंग हुन सकेन । महिलातर्फ राजपुरा पछाईको नाममा ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको नाममा ३१ मिनेट ११.४ सेकेन्ड कोर्स रेकर्ड रहेको छ ।

कान्तिपुर

Link copied successfully