काठमाडौँ — लालीगुराँस नेसनल एकेडेमीले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा पदक जितेका विद्यालयका खेलाडीलाई सम्मान गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा लालीगुराँसले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका अवसरमा ११ खेलाडी र तीन प्रशिक्षकलाई सम्मान गरेको हो । उनीहरूलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन र लालीगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले सम्मान गरे ।
एथलेटिक्सका खेलाडी अनिशा थारु, दिना गोपाली, भगवती खड्का, अस्मिता भुजेल, अविनाश सुनार, सन्तबहादुर दराई, निरज शाह, दीपेन्द्र गिरी, शर्मिला बिक र शैलेश श्रेष्ठ तथा उसुकी खेलाडी अनु मोक्तानलाई सम्मान गरिएको थियो ।
एथलेटिक्सका प्रशिक्षकद्वय सीताराम चौधरी र देवी बस्नेत तथा उसुका प्रशिक्षक सुवास मगर पनि सम्मानित भए । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जेठ ३० मा सम्पन्न रनिङ सिल्डमा लालीगुराँसले एथलेटिक्समा १० स्वर्ण, ५ रजत र २ कांस्य पदक जितेको थियो । उसुमा पनि लालीगुराँसले एक स्वर्ण जितेको थियो ।
यस क्रममा लालीगुराँस एकेडेमीमा अध्ययनरत खेलाडीले ६ राष्ट्रिय कीर्तिमान बनाएका थिए । अनिशा थारुले लङजम्प, ट्रिपलजम्प, ४ गुणा ४०० मिटर रिले र ४ गुणा १०० मिटर रिलेमा गरी चार स्वर्ण र एक रजत पदक जितेकी थिइन् । यस क्रममा उनले ट्रिपलजम्प र दुई रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
