दाङ — घोराहीमा पहिलोपटक आयोजित १० किलोमीटर खुला ‘रोड रेस’ प्रतियोगितामा पुरुष-महिला दुवैतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी प्रथम भएका छन् ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा शनिबार बिहान घोराहीमा भएको ‘लुम्बिनी राष्ट्रिय खुला पुरुष-महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ अन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम भए । श्रेष्ठले उक्त दूरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकन्डमा पार गरे ।
यस्तै, पुरुषतर्फ आर्मीकै नरेन्द्र रावत ३१ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो, नेपाल प्रहरीका नागेश्वर अहिरले ३१ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो, आर्मीका विनोद रोकायाले ३१ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै चौथो र एपीएफका रुपेश कार्कीले ३१ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै पाँचौं भए ।
यस्तै, आर्मीका सुशील कुमार शाही छैठौं, आर्मीकै करण रावल सातौं, कपिलवस्तुका अजय पाँडे क्षेत्री आठौं, सल्यानका बबिन योगी नवौं र रोल्पाका झरमान पुनले दशौं स्थान हासिल गरे ।
प्रतियोगितामा महिलातर्फ एपीएफकी पुष्पा भण्डारी ३८ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो, एपीएफकै दिपा परियारले ३९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै तेस्रो, नेपाल प्रहरीकी सुमित्रा कुमारी चौधरीले ४० मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै चौथो र आर्मीकी पुष्पा कठायतले ४३ मिनेट ३६ सेकेन्डमा दूरी पार गर्दै पाँचौं भए ।
यसैगरी, बाँकेकी दीपशिखा शाही छैठौं, बाँकेकै स्वस्तिका शाही सातौं, दाङकी निरमाया चौधरी आठौं, दाङकै उर्मिला घर्ती मगर नवौं र रुकुम पश्चिमकी कमला वली दशौं भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताए ।
लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगितामा प्रथम हुने पुरुष महिला दुवैलाई जनही ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सहभागी पुरुष महिला खेलाडी मध्ये छैठौं, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई पनि समान ५–५ हजार रुपैयाँ हौसला स्वरुप प्रदान गरिएको सदस्य सचिव गौतमले बताए ।
खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्न यस प्रकारको प्रतियोगिता आयोजना गरिएको गौतमले बताए । प्रतियोगितामा विभागीय टिमसहित देशभरबाट ४ सय ५० बढी धावकहरुको सहभागीता थियो ।
