विम्बल्डन टेनिस अब कान्तिपुर म्याक्सबाट

सन् १८७७ देखि सुरु विम्बल्डन १ सय ४८ वर्ष लामो इतिहास बोकेको प्रतिष्ठित टेनिस प्रतियोगिता हो, यो जुन ३० देखि लन्डनमा सुरु हुनेछ

असार १३, २०८२

कान्तिपुर संवाददाता

Wimbledon Tennis now from Kantipur Max

काठमाडौँ — विश्व टेनिसको प्रतिष्ठित प्रतियोगिता विम्बल्डनको नेपाली च्यानल कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू सबै नेपालीको घर–घरसम्म पुर्‍याउने क्रममा एउटा ऐतिहासिक उपलब्धिका रूपमा विम्बल्डन टेनिसको प्रत्यक्ष प्रसारणलाई लिएको कान्तिपुर टेलिभिजनका सीओओ सुरजसिंह ठकुरीले बताए ।

दरबारमार्गस्थित हार्डरक क्याफेमा बिहीबार पत्रकार सम्मेलन गर्दै कान्तिपुर टेलिभिजनले विम्बल्डनको प्रत्यक्ष प्रसारणबारे जानकारी दिएको हो । 

कान्तिपुर म्याक्सले भर्खरै सम्पन्न विश्व क्रिकेटको प्रभावशाली फ्रेन्चाइज लिग आईपीएलको प्रत्यक्ष प्रसारण गरेको थियो । विम्बल्डन टेनिस इंग्ल्यान्डको लन्डनमा यही जुन ३० देखि जुलाई १३ सम्म आयोजना हुनेछ । चार ग्रान्ड स्लाममध्ये सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो विम्बल्डन । 

अस्ट्रेलियन र फ्रेन्च ओपनपछि तेस्रो ग्रान्ड स्लामका रूपमा हुने विम्बल्डनको इतिहास आफैंमा समृद्ध छ । सन् १८७७ देखि सुरु विम्बल्डन १ सय ४८ वर्ष लामो इतिहास बोकेको प्रतियोगिता हो । यो घाँसे कोर्टमा आयोजना हुने गर्दछ । विश्व खेलकुदमा लोकप्रिय र ठूलो धनराशिको पुरस्कार रहने खेलमा पर्दछ टेनिस । नेपालमा पनि टेनिसको इतिहास पुरानै छ । नेपाल टेनिस संघ स्थापना भएको नै ६ दशक बढी भइसक्यो । तर, अपेक्षाकृत यसले फड्को मार्न सकिरहेको छैन । 

त्यही परिप्रेक्ष्यमा कान्तिपुर म्याक्सको पहल विम्बल्डनको प्रत्यक्ष प्रसारण गरेर दूरदराजका नेपाली खेलप्रेमीमाझ टेनिसलाई फैलाउने प्रयास रहेको सीओओ ठकुरी बताउँछन् । कान्तिपुर म्याक्सले पछिल्लो समय खेलकुद केन्द्रित टेलिभिजन च्यानलका रूपमा आफूलाई स्थापित गरिरहेको छ । पछिल्लो एक वर्षमा खेलकुदका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको छ ।

‘एकातर्फ खेलकुदका राष्ट्रिय प्रतियोगितालाई पनि उत्तिकै महत्त्व दिएका छौं भने अर्कोतर्फ अन्तर्राष्ट्रिय प्रतियोगिताको लोकप्रियता र ब्यापकता पनि बिर्सेका छैनौं । हाम्रो उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितालाई सन्तुलित रूपमा अगाडि बढाउने नै हो,’ विज्ञप्तिमा भनिएको छ । 

दुई साता लामो प्रत्यक्ष प्रसारणका क्रममा खेल सुरु हुनुअघि त्यसबारे विश्लेषण कार्यक्रम राखिने र त्यसमा नेपाली टेनिसका पुराना, नयाँ खेलाडीसहित टेनिससँग आबद्ध व्यक्तिहरूसँग कुराकानी गरिने जनाइएको छ ।

नेपालका शीर्षस्थ टेनिस खेलाडीहरूले नेपाली टेलिभिजन च्यानलबाट विम्बल्डनको प्रत्यक्ष प्रसारण हुनुलाई ठूलो उपलब्धिको रूपमा बताए । पुरुष वरीयताका नम्बर एक खेलाडी प्रदीप खड्काले भने, ‘नेपाली टिभी च्यानलमा विम्बल्डन π यो हाम्रा लागि ठूलो कुरा हो, त्यसका लागि कान्तिपुर म्याक्स र प्रत्यक्ष प्रसारण ल्याउन मिहिनेत गर्नुहुने कान्तिपुर परिवारलाई धन्यवाद भन्न चाहन्छु ।’ 

महिलातर्फ शीर्ष वरीयतामा रहेकी अभिलाषा विष्टले पनि युवा र नयाँ पुस्ताका लागि विम्बल्डनको प्रत्यक्ष प्रसारणले टेनिसको प्रवर्द्धनमा टेवा पुग्ने बताइन् । उनले कान्तिपुर टीभीमा विम्बल्डनको प्रत्यक्ष प्रसारण आउनुले टेनिस भन्ने खेल पनि हुँदोरहेछ भन्ने चासो बढ्ने र त्यसले सबैलाई आकर्षित गर्ने बताइन् । नम्बर दुई वरीयताकी सुनीरा थापा र नम्बर तीन वरीयताकी शिभाली गुरुङले पनि नेपालमा चर्चित बन्न नसकिरहेको टेनिस खेलले विम्बल्डन प्रत्यक्ष प्रसारणबाट ठूलो लाभ लिन सक्ने बताए । 

नेपाल टेनिस संघकी अध्यक्ष तथा एनओसी उपाध्यक्ष ज्योति राणाले ग्रान्ड स्लाम नेपाली खेलाडीको पनि सपना हुने बताउँदै कान्तिपुर टीभी च्यानलबाट विम्बल्डन जस्तो प्रतिष्ठित प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिनुले नेपाली टेनिसलाई परोक्ष रूपमा फाइदा पुग्ने बताइन् । 

काठमाडौं उपत्यकासहित अन्य सहरका होटल, रेस्टुरेन्ट, क्याफेहरूमा ठूलो पर्दामार्फत विम्बल्डनलाई देखाउन पनि प्रयास गरिने बताइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully