काठमाडौँ — मंगलादेवी सिंह स्मृति दोस्रो ओपन फिडे रेटिङ चेस प्रतियोगिताका विजेता खेलाडीलाई शुक्रबार पुरस्कृत गरिएको छ ।
काठमाडौं महानगरपालिका–२७ को आयोजनामा अन्नपूर्ण माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा पुरुषोत्तम सिलवालले उपाधि जितेका थिए । उनले उत्कृष्ट प्रदर्शन गर्दै ८.५ अंकसहित २५ हजार रुपैयाँ पुरस्कार जिते । उनले ९ खेलमध्ये ८ जित र १ बराबरी गरेका थिए ।
क्षितिज भण्डारीले ८ अंकसहित दोस्रो भए भने प्रकाशचन्द्र नेपालले ७ अंकसहित तेस्रो भए । उनीहरूले क्रमशः २० हजार र १५ हजार प्राप्त गरे । धिरेन राईले ७ अंक, सुरोज महर्जनले ७ अंक र शैलेन्द्र न्यौपाने साढे ६ अंक पाए । उनी चौथोदेखि छैटौं स्थानमा रहे । उनीहरू जनही ५ हजार पाए । जनार्दन श्रेष्ठ, कमल श्रेष्ठ, राजन सुवेदी, आशिष फुयाल क्रमशः सातौं, आठौं, नवौं र दसौं स्थान रहेर ४–४ हजार पाए ।
महिलातर्फ रिया श्रेष्ठ विजेता भइन् । उनले १० हजार जितिन् । शान्ति धिमाल दोस्रो र यजश्वी श्रेष्ठ तेस्रा भए । उनीहरूले क्रमशः ७ हजार ५ सय र ५ हजार पाए ।
५५ वर्षमाथि भेट्रानतर्फ सीएम नवीन तण्डुकार विजयी भए । आफ्नो रेटिङतर्फ हार्दिक पन्त, प्रेम खड्का र सन्देश श्रेष्ठ उत्कृष्ट भए भने अनरेटेडमा साँखुका पूर्णनारायण अवाले, १२ वर्षमुनि अर्णव अर्याल, १० वर्षमुनि अग्रता आचार्य र अनुशासित खेलाडीमा कुमार महर्जनले पुरस्कार पाए ।
प्रतियोगितामा नयाँ खेलाडीले अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो । विजेतालाई मंगलादेवी फाउन्डेसनका अध्यक्ष सिर्जना सिंह, काठमाडौं महानगरपालिका–२७ का वडा अध्यक्ष योगेशकुमार खड्गी र अतिथि अन्नपूर्ण माध्यामिक विद्यालयका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीलगायत पुरस्कार प्रदान गरे ।
