फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने

असार १२, २०८२

कान्तिपुर संवाददाता

The franchise will be Indoor Premier League Cricket

काठमाडौँ — काठमाडौं स्पोर्ट्स इभेन्ट्सले नेपालमा पहिलो पल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट आयोजना गर्ने भएको छ ।

भदौ २३ देखि २८ सम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुनेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता निर्देशक ज्योति भण्डारीले १० ओभरमा हुने लिगमा १० फ्रेन्चाइज टिमको भाग लिने बतए ।

चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्क उक्त लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने स्पर्धाका शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशिको पुरस्कार दिने र यसबारे केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन पनि हुने बताए । एक मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ । क्याटगोरी ‘ए’ का खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ का खेलाडीले ५ देखि १० हजार रुपैयाँ तोकिएको छ ।

लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए । निर्देशक भण्डारीले लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित टी–१० फर्म्याटमा सुरु गरिएको बताए ।

कान्तिपुर

Link copied successfully