दाङ — लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा पुरस्कार प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको छ। १ सय ४८ खेलाडी र १९ प्रशिक्षक गरी १ सय ६३ जनालाई बुधबार राप्ती उपत्यका(देउखुरी) मा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो।
खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम भएकाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरी हौसला प्रदान गरिएको परिषदका सदस्य सचिव तिरणदाज गौतमले बताए । विश्वकप खो–खो प्रतियोगिता–२०२५ मा दोस्रो स्थान हाँसिल गर्ने ८ जना खेलाडीलाई प्रति व्यक्ति २ लाखका दरले सम्मान गरिएको छ ।
उक्त खेलका प्रशिक्षक र व्यवस्थापक दुई जनालाई प्रति व्यक्ति १ लाखका दरले सम्मान गरिएको छ । दक्षिण एसियाली कराते प्रतियोगितामा रजत पदक प्राप्त गरेका एक जना खेलाडीलाई १ लाख रुपैयाँले सम्मान गरिएको गौतमले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका एकल इभेन्टमा स्वर्ण पदक विजेता खेलाडी ५ जनालाई प्रति व्यक्ति ३५ हजार, रजत पदक विजेता १८ जनलाई प्रति व्यक्ति २० हजार र काश्य पदक विजेता ४६ जनालाई प्रति व्यक्ति १५ हजार रूपयां प्रदान गरिएको छ ।
सोही प्रतियोगिताको समूहगत इभेन्टमा स्वर्ण पदक विजेता १२ जना खेलाडीलाई प्रति व्यक्ति २० हजार, समूहगत ईभेन्टमा रजत पदक विजेता ३६ जना खेलाडीलाई प्रति व्यक्ति १२ हजार र समूहगत इभेन्टमा काश्य पदक विजेता १२ जनालाई प्रति व्यक्ति ८ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका स्वर्ण पदक विजेता खेलाडीका ६ जना प्रशिक्षकलाई व्यक्तिगत १५ हजार, रजत पदक विजेता खेलाडीका ८ जना प्रशिक्षकलाई व्यक्तिगत २५ हजार र काश्य पदक विजेता खेलाडीका ५ जना प्रशिक्षकलाई व्यक्तिगत १० हजार प्रदान गरिएको छ ।
टि–२० विश्वकप नेत्रहिन क्रिकेट प्रतियोगितामा भाग लिएका चार जना खेलाडीलाई प्रति खेलाडी ५० हजार रुपैयाँले सम्मान गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव गौतमले बताए ।
