काठमाडौँ — बेन डकेटले बनाएको उत्कृष्ट १ सय ४९ रनको मदतले इंग्ल्यान्डले भारतलाई पहिलो टेस्टमा मंगलबार पाँच विकेटले हराएको छ । हेडिङ्लेमा भएको टेस्टको पाँचौं दिनको अन्तिम सत्र इंग्ल्यान्ड यस ऐतिहासिक र नाटकीय जित हात पार्न सफल भएको हो ।
जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको इंक्ष्ल्यान्ड त्यसको जवाफमा पाँच विकेटमा ३ सय ३७ रन बनाउन सफल रह्यो । यो जितसँगै इंग्ल्यान्डले पाँच टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ । इंग्ल्यान्डले विना कुनै विकेटको क्षति २१ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।
डकेटले पहिलो विकेटका लागि ६५ रन बनाएका ज्याक क्रलीसँग १ सय ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । जेमी स्मिथ ४४ रन बनाएर नटआउट रहे र उनले नै छक्का प्रहार गर्दै विजयी रन बटुले । जोए रुट ५३ रन बनाएर नटआउट रहे ।
