जनकपुरधाम — मधेश प्रदेश सरकारले ५० लाखको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको छ । बिहीबारदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता हुन लागेको हो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका कबड्डी टिम सहभागी हुने आयोजकले जनाएको छ।
मधेस खेलकुद परिषद्का सदस्य-सचिव शिवजीप्रसाद कानुले हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने बताए । उनका अनुसार मधेसको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए ।
मधेस सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदमार्फत राष्ट्रको सम्पत्तिका रूपमा धेरै खेलाडी उत्पादन गर्न सकिने उनको दाबी थियो ।
तर, यो प्रतियोगिताको प्रथम विजेतालाई मात्र २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार नगद पुरस्कार राखिएको छ। पुरस्कार राशिप्रति खेलाडीले आपत्ति जनाएका छन् ।
मधेस खेलकुद परिषद्का सदस्य-सचिव कानुले भने कार्यविधिले धेरै कुरा छेक्ने गरेको हुनाले पुरस्कार राशि कम रहेको बताए । यो स्तरको प्रतियोगिता गर्दा प्रथम, दोस्रो र तेस्रोलाई यति नै पुरस्कारको व्यवस्था कार्यविधिमा रहेको उनको कथन छ । यसका अतिरिक्त खेलाडीले कार्यविधि अनुसार प्रतिदिन१२ सयदेखि १६ सयसम्म भत्ता पाउने उनले सुनाए ।
