काठमाडौँ — साबिक विजेता नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा मंगलबार लगातार दोस्रो जित निकालेको छ । समूह ‘ए’ को खेलमा यो जित उत्तिकै सजिलो रह्यो । नेपालले जापानमाथि ९ विकेटको आरामदायी जित हात पारेको हो ।
नेपालको जितका नायक रहे, शुभम खनाल । उनले ५ विकेटको उत्कृष्ट प्रदर्शन गरेका थिए । यो जितले समूह विजेता बन्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई हराएको थियो । टिमको २ खेलबाट ४ अंक छ ।
हारले जापान २ अंकमै सीमित रह्यो । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा नेपालले जितका लागि ८१ रनको मात्र लक्ष्य पाएको थियो । त्यसलाई नेपालले १४.२ ओभर खर्चेर एक विकेट गुमाउँदै पूरा गर्यो । प्रसिद्ध जैसीले ३७ बलमा ३३ रन बनाए । उनले ३ चौका प्रहार गरे ।
शिवान्स बजगाईंले ७ चौकाको मदतमा ४२ बलमा ३८ रन जोडेका थिए । उनीहरूले दोस्रो किकेटका लागि अविजित ७६ रनको साझेदारी गरेका थिए । आउट हुने एकमात्र ब्याटर जोय थापाले ७ बल सामना गरेर एक रनमात्र बनाएका थिए । उनी काइसेई कोबायसीको बलमा आउट भए ।
त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्न धेरै सोचेन र पूरा टिम नेपालको धारिलो बलिङसामु ३४.४ ओभर मात्र टिक्न सक्यो । ८० रन बनाएर टोली अलआउट भयो । जापानका लागि दोहोरो अंक छुनेमध्ये कप्तान चार्ली हारहिन्जले ४८ बलमा ३६ रन बनाए । उनले ४ चौका प्रहार गरे । क्याबी हारहिन्जले ३० बलमा १३ रन बनाए ।
नेपाली बलरमध्ये सर्वाधिक सफल रहेका शुभमले १० ओभरमा १५ रनमात्र खर्चेर ५ विकेट हात पारे । लगातार दबाबमा रहेको जापानले ४२ रनमै ५ विकेट गुमाइसकेको थियो । त्यसपछि कप्तान चार्लीले आफ्नो टिमलाई केही सम्मानजनक स्कोरसम्म पुर्याउने प्रयास गरे । उनी टिम ७१ रनको स्थितिमा छँदा शुभमको बलमा आउट भए । त्यसपछि जापानले९ रन अन्तरमा बाँकी ५ विकेट गुमाएको थियो । शुभमलाई साथ दिँदै अभय यादवले २, सुशील रावल र विपिन शर्माले १–१ विकेट लिए ।
नेपालले अब आफनो तेस्रो खेलमा आइतबार इन्डोनेसियाको सामना गर्नेछ । लिग चरणमा नेपालको अन्तिम प्रतिद्वन्द्वी भुटान रहेको छ ।
