पीएसजी समूह जित्दै अन्तिम १६ मा

असार १०, २०८२

कान्तिपुर संवाददाता

PSG into the last 16 by winning the group

काठमाडौँ — ख्विचा क्वारत्सखेलिया र अचरफ हाकिमीको गोल मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार क्लब वर्ल्डकप २०२५ मा सियाटल सन्डर्सलाई २–० ले पराजित गरेको छ ।

यससँगै युरोपेली च्याम्पियन गोल अन्तरको आधारमा समूह ‘बी’ जित्नै अन्तिम १६ पुगेको छ ।

यसअघिको खेलमा बोटाफोगोको हातबाट पराजित भएपछि पीएसजीलाई यो खेल जित्नु नै पर्ने थियो । यसै समूहको अर्को खेलमा बोटाफोगो एटलेटिको म्याड्रिडको हातबाट १–० ले पराजित रह्यो । तर एटलेटिकोका लागि यो जित अगाडि बढ्न पर्याप्त रहेन ।

समूहको दोस्रो स्थानमा रहेर ब्राजिली क्लब बोटाफोगो पनि नकआउट चरणमा पुगेको छ । पीएसजी, बोटाफोगो र एटलेटिको तीनै टिम समान ६ अंकमा रहे । गोल अन्तरको आधारमा एटलेटिको तेस्रो स्थानमा रह्यो र उसलाई भाग्यले साथ दिएन । स्पेनी क्लबका लागि एक मात्र गोल एन्टोनियो ग्रिजमनले गरेका थिए । 

कान्तिपुर

Link copied successfully