दुई लाख पुरस्कार राशिको म्याग्दी भलिबल कप : आयोजक र स्याङ्जा फाइनलमा

असार १०, २०८२

रासस

Myagdi Volleyball Cup with two lakh prize money: Host and Sanja in the finals

म्याग्दी — आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को फाइनलमा पुगेका छन् । 

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको बुधबार हुने फाइनलमा प्रथम स्थानका लागि म्याग्दी र स्याङ्जाबीच प्रतिस्पर्धा हुने भएको हो । 

बेनीको खुला मञ्च खेलमैदानमा आज भएको सेमीफाइनलमा म्याग्दीले बागलुङलाई २५–१७, २५–१९ र २५–२१ को अन्तरमा सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा पुगेको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताउनुभयो । स्याङ्जाले तनहुँसँग भएको प्रतिस्पर्धात्मक खेलमा दुईका विरुद्ध तीन सेटले पराजित गरेको हो । 

२५–१९ र २५–२२ को अन्तरमा पहिलो र दोस्रो खेल जितेको तनहुँ तेस्रो, चौथो र पाँचौँ सेटको खेलमा स्याङ्जासँग ३०–२८, २५–१६ र १९–१७ को अन्तरमा पराजित भयो । तनहुँ र बागलुङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । 

आइतबारदेखि सुरू भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेताले नगद दुई लाख, उपविजेताले नगद एक लाख रुपैयाँ तथा तेस्रो हुने टिमले नगद ५० हजार तथा चौथो हुनेले नगद २५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बानियाँले बताए । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रासस

Link copied successfully