मेलबर्न — अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भिक्टोरिया नेपाली लिग–२ अन्तर्गत ग्रेस कपको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ। चितवनले फाइनलमा फार वेस्ट हन्टर्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
नेप्लिज क्रिकेट एशोसिएसन अफ भिक्टोरियाको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता अन्तर्गत विभिन्न चरणमा ३९ खेल सम्पन्न गरिएको थियो। फाइनलमा पहिले बलिङ रोजेको चितवनको बलिङमा हन्टर्सले २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १२१ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले १७.१ ओभरमा ३ विकेट मात्र गुमाएर लक्ष्य पूरा गरेको थियो।
प्रतियोगिताको विजेता बनेको चितवनले ट्रफीसहित ४ हजार ५ सय डलर नगद हात पारेको छ भने उपविजेता हन्टर्सले २ हजार ७ सय डलर नगद पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा राजेश पुलामी मगर ‘उत्कृष्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट’, दीपेश विष्ट ‘उत्कृष्ट बलर’ र किरण पाण्डे ‘उत्कृष्ट विकेटकिपर’ घोषित भएका छन्। उनीहरूले जनही २ सय डलरको पुरस्कार प्राप्त गरेका छन्।
ग्रेस इन्टरनेसनलको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको मुख्य उद्देश्य भिक्टोरियामा रहेका क्रिकेट प्रतिभालाई उजागर गर्नु र थप अवसर सिर्जना गर्नु रहेको आयोजक संस्थाका अध्यक्ष विकास सापकोटाले बताएका छन्। उनले नेपालीको संख्या बढिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई अवसर दिने मात्र नभई आपसी भाइचारा र सद्भाव बलियो बनाउन समेत मद्दत पुर्याएको उल्लेख गरेका छन्।
