महिला राष्ट्रिय भलिबलको सेमिफाइनल समिकरण पूरा

असार ९, २०८२

सुवास विडारी

Women's National Volleyball Semi-Final Match Completed

मकवानपुर — हेटौंडामा जारी नेकोस राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

हेटौंडा–४ स्थित हुप्रचौरमा जारी प्रतियोगिताको अन्तिम चारमा विभागीय टोली सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र न्यू डाइमण्ड क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । समूह ‘क’ बाट विजेताको रुपमा पुलिस र उपविजेताको रुपमा गण्डकीले नकाउट चरणमा प्रवेश गरेका थिए । समूह ‘ख’बाट डाइमण्ड विजेता बन्दा एपीएफले उपविजेताको रुपमा अगाडि बढ्न बाध्य भयो ।

प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा डायमण्डले मधेश प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । डाइमण्डले मधेशलाई २५–६, २५–१८ र २५–८ को अंकमा पराजित गरेको थियो । मधेशले प्रतियोगितामा कुनै पनि खेल जित्न सकेन। डाइमण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । प्रतियोगितामा उसको फर्म असाध्यै बलियो देखिएको छ । उद्घाटन खेलमा बलियो टोली एपीएफलाई पराजित गरेसँगै डाइमण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको हो ।

लिग चरणको अन्तिम खेलमा पुलिसले गण्डकीलाई २५–१३, २५–११ र २५–१९ को स्कोरमा पराजित गरेको छ । अनुभवी खेलाडीले भरिएको पुलिसको अगाडि गण्डकीको प्रदर्शन कमजोर देखिएको थियो । आफ्नो पुरानो सानलाई फर्काउने गरी गण्डकीले टोली निर्माण गरिरहेको कारण केही कमजोर देखिएको खेलाडीहरुले बताएका छन् । गण्डकीले लिग चरणमा एक मात्र जित हात पार्‍यो ।

प्रतियोगिताका दुवै सेमिफाइनल खेल मंगलबार हुनेछन् । ६ टोलीको सहभागी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँसहित ट्रफी जित्नेछन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully