काठमाडौँ — नेपाली राष्ट्रिय महिला टोलीलाई सोमबार एएफसी महिला एसियन कप छनोटका लागि बिदाइ गरिएको छ ।
नेपाली राष्ट्रिय टोली मंगलबार उज्वेकिस्तानको तास्कन्द जानेछ । नेपाल समूह ‘एफ’ रहेको छ । नेपालले घरेलु टोली उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने एसियन कप खेल्न पाउनेछ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले उच्च सफलताको कामना गर्दै टोलीलाई बिदाइ गरेका थिए । सचिव लम्सालले सीमित स्रोत र साधनका बावजुद महिला खेलाडीले राम्रो प्रदर्शन गरिरहेको स्मरण गर्दै यसपालि अझै उच्च प्रदर्शन गरेर राष्ट्रको झन्डा फहराउन शुभकामना दिए ।
एन्फा अध्यक्ष नेम्वाङले महिला टोलीको यसपल्टको यात्राबाट अझ बढी अपेक्षा गरिएको बताए । उनले भने, ‘युरोपका लिगहरूको अनुभव लिएका खेलाडीहरू पनि हामीसँग टोलीमा छ अनि युरोपका अनुभवी प्रशिक्षक टोलीसँग छ । त्यसले गर्दा यसपालि हामीले धेरै नै अपेक्षा गरेका छौं । त्यसमा तपाईंहरू सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।’
विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा रहेको नेपाली टोलीले असार १५ मा लाओससँग छनोटको पहिलो खेल खेल्नेछ । त्यसपछि श्रीलंकासँग असार १८ मा र उज्वेकिस्तानसँग असार २१ मा नेपालको खेल रहेको छ ।
यसअघि नेपाली महिला टोलीले लाओसविरुद्ध खेलेको छैन । श्रीलंकासँग खेलेका सबै ८ खेलमा जित निकालेको नेपालले उज्वेकिस्तानसँग भने खेलेका तीनै खेल हारेको छ ।
पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको नेपाली महिला टोली २६ वर्षपछि एसिया कपमा छनोट हुने लक्ष्यमा छ । नेपाली महिला टोलीले तीन पटक एसियन कप खेलेको छ । पछिल्लो पटक सन् २०२२ मा छनोट खेले पनि नेपाल छनोट हुन सकेन ।
नेपाली टोलीको गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर, डिफेन्डरमा गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, बिमला बिक, पूजा राना, अमृता जैसी छन् । त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, विमला चौधरी, अनिता बस्नेत, सरस्वती हमाल तथा फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसी रहेका छन् ।
सहायक प्रशिक्षकमा राजेन्द्र तामाङ र भगवती थापा, गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा, टिम म्यानेजरमा बिन्द्रा देवान, टिम चिकित्सकमा डा. अलिशा राई, फिजियोमा शिला गिरी र किट म्यानेजरमा विकास गुरुङ रहेका छन् ।
