सायम अन्तरकलेज फुटसल बुधबारदेखि

असार ९, २०८२

कान्तिपुर संवाददाता

Saim Intercollegiate Futsal from Wednesday

काठमाडौँ — हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमले भाग लिने भएको छ ।

बुधबार सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको सायम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले बताए । पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको बताए ।  

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुनेछन् ।

विजेताले ९० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा विधागत उत्कृष्टले जनही ३ हजारसहित गिफ्ट भौचर प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउनेछन् ।

प्रतियोगिता आयोजना गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले बताए । तीनदिने प्रतियोगिताका खेल भक्तपुरको रोयल नेपाल फुटसलमा हुनेछ ।

सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलो पटक फुटसल गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए ।

कान्तिपुर

Link copied successfully