खेलाडी कमल अमेरिकामा नगदसहित सम्मानित

असार ९, २०८२

कान्तिपुर संवाददाता

Player Kamal honored with cash in America

काठमाडौँ — उमा कुङ्फुका खेलाडी कमल मगर अमेरिकामा नगद राशिसहित सम्मानित भएका छन् । उनलाई नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्‍याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा सम्मान गरिएको हो ।

कमललाई अमेरिकामा रहेका वरिष्ठ कानुन व्यवसायी खगेन्द्र घर्ती क्षेत्री, सिद्धार्थ लामालगायतले २ लाख ७४ हजार नगदसहित सम्मान गरे । त्यसमा क्षेत्रीले १ लाख २ हजार ७ सय ५० र लामाले ६८ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।

न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लबमा आयोजित कार्यक्रममा कमललाई प्रशंसापत्रसहित नगद राशि प्रदान गरिएको थियो ।

च्याम्पियन मार्सल आर्ट्स क्लबका अध्यक्ष ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामाले कमलको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा थप गौरवान्वित तुल्याएको बताए । उनले कमलको प्रेरणादायी यात्रा भविष्यका पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे ।

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१० निवासी चौथो डान कमल प्रशिक्षक र निर्णायकको भूमिकामा सक्रिय छन् ।

कमलले इन्टरनेसनल ब्याटल अफ डेटोना (अमेरिका), युरोपियन च्याम्पियनसिप (बेलायत), डब्लूएमएसी प्यान्डेमिक गेम्स (अस्ट्रिया), १३ औं वर्ल्ड मार्सल आटर््स गेम्स (क्रोएसिया), १२ औं डब्लूएमए वर्ल्ड च्याम्पियनसिप (बेलायत) र सातौं वर्ल्ड कुङ्फु च्याम्पियनसिप, (थाइल्यान्ड)मा स्वर्ण पदर्क जितेका छन् ।

कान्तिपुर

Link copied successfully