काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का संस्थापकमध्येका एक क्षितिजअरुण श्रेष्ठको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका उनको पाटन अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो । उनको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतका खेलकुदकर्मीले आर्यघाट पुगेर शोक व्यक्त गरेका थिए ।
थुप्रै मिडियामा काम गरेका उनी फोटो पत्रकारको रूपमा लामो समय खेलकुदमा सक्रिय थिए । मञ्च विसं २०५२ सालमा स्थापना हुँदा ११ जना संस्थापकमध्ये क्षितिजअरुण पनि एक थिए । मञ्चले सोमबार शोक वक्तव्य जारी गर्दै मञ्चका संस्थापक तथा मार्गनिर्देश व्यक्तित्वको निधनले नेपाली खेलकुद पत्रकारितामा अपूरणीय क्षति पुगेको जनाउँदै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
काठमाडौंको ढल्कोमा जन्मिएका क्षितिजअरुण ५५ वर्षका थिए । उनी नेपाल ओलम्पिक संग्रहालयका संस्थापक हुन् । उनले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गरी खेलकुदसम्बन्धी विभिन्न पुस्तक प्रकाशन गरेका छन् । पछिल्लो समय उनी नेपाल स्टिक स्पोर्टस संघका सचिव तथा विजनेश डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशक थिए । उनका एक श्रीमती र एक छोरी छन् ।
