काठमाडौँ — आयोजक काठमाडौं महानगरपालिका वडा २६ ले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत क्योकुसिन कराते (आईकेयु) मा ३ स्वर्ण जितेको छ ।
पुरुषको ५ स्पर्धा समावेश प्रतियोगितामा क्योकुसिन बुदो र काठमाडौं महानगरपालिका वडा १२ ले १–१ स्वर्ण जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा बालकृष्ण बुढा, ४५ केजीमा रिखिधन राई र खुला तौल समूहमा धनबहादुर बिकले आयोजकलाई स्वर्ण दिलाए । बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखिधनले पनि आफ्नै वडाका कैलाश राना मगर र धनबहादुरले कामनपा २५ का गोविन्द बस्याललाई पराजित गरे ।
पुरुष ३५ केजीमा क्योकुसिन बुदोका सिर्जन सुनुवारले काठमाडौं महानगरपालिका १२ का समरबहादुर दमाईं तथा ५५ केजीमा काठमाडौं महानगरपालिका १२ का सुसान तामाङले आफ्नै वडाका आशुतोष जैसवाललाई हराए । शीर्ष चार स्थानमा रहने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै तार्केश्वर नगरपालिकाले पुरुष फुटसलको उपाधि जितेको छ । लैनचौर मैदानमा तार्केश्वरले वडा ५ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । निर्धारित समय १–१ बराबरीमा टुंगिएको थियो । तार्केश्वरले १ लाख ५० हजार र वडा ५ ले ७५ हजार पुरस्कार पाए ।
प्रतियोगितामा वडा ५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी तथा वडा ५ कै नितेश महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । वडा २६ का नीराजन मल्ल सर्वाधिक गोलकर्ता भए । तीनैले १० हजार पुरस्कार पाए ।
विजेतालाई काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोल, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र उपमेयर सृजना बुर्लाकोटीलगायतले पुरस्कृत गरे ।
