न्यु डायमन्ड र पुलिस विजयी

असार ८, २०८२

सुवास विडारी

New Diamond and Police win

मकवानपुर — हेटौंडामा शनिबार सुरु राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगितामा पहिलो दिन टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

न्यु डायमन्डले एपीएफ क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । डायमन्ड २७–२५, २५–१५, २५–१७ को सेटमा विजयी भएको हो । पुलिस क्लबले बागमती प्रदेश टिमलाई सोझो सेटमा २५–१, २५–४, २५–८ ले सहजै पराजित गरेको थियो । 

हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले गरेकी थिइन् । प्रतियोगितामा पुलिस, एपीएफ, न्यु डायमन्ड, बागमतीसहित मधेश र गण्डकी प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ । विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछ । असार ११ सम्म स्पर्धा लिगकम नकआउटको आधारमा चल्ने आयोजक नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully