सबैभन्दा महँगो अनुबन्धका रूपमा लिभरपुलले फ्लोरियन विर्ट्जका लागि १३ करोड ४० लाख डलर तिरेको अनुमान
लिभरपुल — लिभरपुलका नयाँ स्टार खेलाडी फ्लोरियन विटर्ज क्लबका लागि सबथोक जित्न चाहन्छन् । इंग्लिस प्रिमियर लिगकै इतिहासमा सबैभन्दा महँगो अनुबन्धका रूपमा लिभरपुलले उनलाई शुक्रबार औपचारिक रूपमा बायर लेभरकुजनबाट भित्र्याएको हो । इंग्ल्यान्डमा छापिएका समाचारअनुसार लिभरपुलले उनका लागि १३ करोड ४० लाख डलर तिरेको छ ।
प्रदर्शनका आधारमा विटर्ज को यो रकम अझ बढ्न सक्नेछ । लिभरपुलका लागि यो कीर्तिमानी अनुबन्ध हो नै । यो इंग्लिस फुटबलकै लागि पनि सबैभन्दा महँगो हुन सक्नेछ । जर्मन मिडियाका अनुसार त यो अनुबन्ध रकम अझ बढी छ । ती मिडियाका अनुसार लिभरपुलले केही नभए पनि १४ करोड ९० लाख डलर लेभरकुजनलाई तिरेको छ ।
यसमा पनि उनको प्रदर्शनका आधारमा थप रकम तिर्नुपर्नेछ । उनलाई युरोपेली फुटबलका सबैभन्दा प्रभावशाली उदीयमान खेलाडी मानिन्छ । लेभरकुजनका पूर्व प्रशिक्षक जाभी अलोन्सोले उनलाई विश्व फुटबलकै उत्कृष्ट भनेका छन् । लिभरपुलका पूर्व खेलाडी जाभी हालै मात्र लेभरकुजन छाडेर रियल म्याड्रिड गएका हुन् । विटर्ज आफैंले भने लिभरपुलको वेबसाइटका लागि भनेका छन्, ‘म सबथोक जित्न चाहन्छु ।’
विटर्जले भनेका छन्, ‘मुख्य कुरा हामी अझ बढी सफल हुन चाहर्न्छौं । पछिल्लो सिजन लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको थियो । मेरो लक्ष्य लिभरपुलले यो लिग उपाधि रक्षा गर्न सकोस् भन्ने नै हो र यसका लागि मेरो योगदान रहनेछ । यतिमात्र होइन, म लिभरपुलका लागि युरोपेली च्याम्पियन्स लिग पनि जित्न चाहन्छु । म वास्तवमै धेरै महत्त्वाकांक्षी रहेको छु ।’
लेभरकुजनले २०२३–२४ मा क्लब इतिहासमै पहिलो पटक बुन्डेसलिगा उपाधि जित्दा २२ वर्षीय विटर््जले महत्त्वपूर्ण भूमिका खेलेका थिए । अलोन्सोको नेतृत्वमा लेभरकुजनले त्यो सिजन लिगमा एकै खेल पनि गुमाएको थिएन । त्यस सिजन लेभरकुजन युरोपा लिगको फाइनलमा मात्र एटलान्टासँग पराजित भएको थियो । विटर्ज बुन्डेसलिगामा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
पछिल्लो सिजन भने बायर्न म्युनिखले बुन्डेसलिगा जितेको थियो भने लेभरकुजन दोस्रो स्थानमा रह्यो । त्यसपछि विटर्जले नयाँ गन्तव्यका लागि प्रयास गरिरहेका थिए । लिभरपुलले गत महिना मात्रै लेभरकुजनका अर्का खेलाडी नेदरल्यान्ड्सका डिफेन्डर जेरेमी फ्रिपोङलाई पनि अनुबन्ध गरिसकेको छ । ‘नयाँ चुनौतीका लागि म पूर्णतः तयार छु र उत्साही पनि छु,’ बिर्टज भन्छन् ।
उनले लिभरपुल जानका लागि बायर्नको प्रस्ताव अस्वीकार गरेका थिए । त्यसैलाई लिएर उनले भनेका छन्, ‘मैले यसबारे धेरै सोचें । म अबको खेलजीवनमा पूर्णतः नयाँ चुनौती सामना गर्न चाहन्छु । त्यसैले मैले बुन्डेसलिगामै रहनुको सट्टा इंग्ल्यान्डलाई रोजें ।’
गत सिजन मुख्य प्रशिक्षकमा आर्ने स्लट आएयता लिभरपुल नयाँ खेलाडी अनुबन्ध गर्न चुपचाप जस्तै रहेको थियो । यही टिमको मदतले लिभरपुलले कीर्तिमान बराबरी गर्दै २० औं इंग्ल्यान्डको माथिल्लो डिभिजनको उपाधि जितेको थियो । अब लिभरपुलले आफ्नो टिमलाई अझ मजबुत बनाउन धेरै खर्च गरेको छ । लिभरपुलले ४ करोड पाउन्ड तिरेर बर्नमाउथका लेफ्ट ब्याक मिलोस केरकेजलाई पनि अनुबन्ध गर्ने क्रममा छ । टिम न्युकासलका स्ट्राइकर एलेक्जान्डर इसाक र क्रिस्टल प्यालेसका सेन्टर ब्याक मार्क गुही किन्न चाहन्छ ।
