काठमाडौँ — टाइम्स बास्केटबल क्लबले शनिबार हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को ट्रफी उचालेको छ ।
टाइम्स फाइनलमा गोल्डेनगेट बास्केटबल क्लबलाई ८०–७२ स्कोरले हराएर च्याम्पियन बन्यो । लगनखेलस्थित आर्मीको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा टाइम्सले सुरुबाटै अग्रता लिएको थियो । पहिलो क्वाटरमा २०–८ को अग्रता बनाएको टाइम्स दोस्रो क्वाटरमा भने पछि पर्यो । गोल्डेनगेटले १९–१४ ले दोस्रो क्वाटर आफ्नो पक्षमा ल्यायो । तर हाफटाइमसम्म टाइम्स ३४–२७ ले अघि रह्यो ।
तेसो क्वाटरमा २६–२१ को अग्रता बनाएको टाइम्सले अन्तिम क्वाटर खेल्नुअघि सम्म ६०–४८ को स्थितिमा थियो । अन्तिम क्वाटरमा गोल्डेनगेटले पकड बनायो । गोल्डेनगेटले २४ स्कोर थप्दा टाइम्सको खातामा २० मात्र पुग्यो । तर टाइम्स समग्रमा ८ स्कोर अन्तरले च्याम्पियन भयो ।
च्याम्पियन टाइम्सले २ लाख र उपविजेता गोल्डेनगेटले १ लाख, तेस्रो भएको हाउन्ड्स एकेडेमीले ५० हजार रुपैयाँ पुरस्कार पाए । लिग चरणमा टाइम्स र गोल्डेनगेटले दुवैले एकअर्कालाई हराएका थिए । यी दुई लिगको शीर्ष दुई स्थानमा रहेर फाइनलमा पुगेका थिउ ।
तेस्रो स्थानको खेलमा हाउन्ड्सले कीर्तिपुर बास्केटबल क्लबलाई ८०–७५ स्कोरले हरायो । फाइनलमा टाइम्सका सदीश प्रधान मोस्ट भ्यालुएबल प्लेयर चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा हाउन्ड्सका विजय बुर्जा चुनिए ।
नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभाको प्रायोजनमा आयोजना गरेको विकेन्ड संरचनामा भएको लिगमा ६ टोलीले भाग लिएका थिए । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको थियो ।
