एसबीआई र एनएमबी च्याम्पियन

असार ७, २०८२

कान्तिपुर संवाददाता

SBI and NMB Champion

काठमाडौँ — तेस्रो एमबीएएन स्पोर्टस मिटको फुटसलतर्फको उपाधि एसबीआई क्यापिटल र एनएमबी क्यापिटलले जितेका छन् ।

नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा एसबीआई पुरुष र एनएमबी महिलातर्फ विजेता बने । 

धनयन्तरी फुटसलमा एसबीआईले प्रभु क्यापिटललाई हराएर उपाधि जित्यो । विजेताले ८० हजार जित्यो । उपविजेताले ४० हजार पायो । १३ गोल गरेका एसबीआईका पुजन खड्का सर्वाधिक गोलकर्ता भए । प्रभुका हिक्मत कुँवर उत्कृष्ट खेलाडी र एसबीआईका आलोक सिवाकोटी उत्कृष्ट गोलकिपर भए । उनीहरूले जनही १० हजार पाए ।

महिला फुटसल उपाधि एनएमबीले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पेनाल्टी शुटआउटमा २–१ ले हराएर जित्यो । विजेताले ५० हजार र उपविजेताले २५ हजार पाए । ९ गोल गरेकी सेबोनकी निशा थापाले सर्वाधिक गोलकर्ता बनिन् । एनएमबीमा निशा देवकोटा उत्कृष्ट गोलकिपर र  मोनिसा बस्नेत उत्कृष्ट खेलाडी भए । उनीहरूले तीनै१०–१० हजार पुरस्कार पाए ।

त्यस्तै टेबलटेनिस पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल विजयी भए । उनले एनआईएमबी क्यापिटलका परञ्जय नेपाललाई हराए । महिलातर्फ सिद्धार्थ क्यापिटलकी कल्पना प्रधानले ग्लोबल आईएमईकी बिना अधिकारीलाई हराइन् ।

टेबलटेनिसकै भेट्रान्सतर्फ एनआईएमबीका पराग विष्टले उपाधि जिते । उनले कुमारी क्यापिटलका अनुप शाक्यलाई हराए ।  

ब्याडमिन्टनको पुरुष डबल्समा सीआईटीका पुरुषोत्तम र अनिल बस्नेत तथा महिलातर्फ प्रभु क्यापिटलकी सिर्जना र पूजा विजयी भए । भेट्रानतर्फ गरिमा क्यापिटलका अशोक र तुलसीको जोडीले उपाधि जित्यो । विजेतालाई नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले पुरस्कार प्रदान गरे ।

कान्तिपुर

Link copied successfully