काठमाडौँ — मोर्डन इन्डियन स्कुलमा आयोजित एमआईएस कप खेलकुद प्रतियोगिता शनिबार सकिएको छ । बास्केटबल ब्वाइजमा आयोजक एमआईएसले डीएभीलाई ३०–१५ स्कोरले पराजित गर्दै उपाधि जित्यो ।
गर्ल्सको फाइनलमा सेन्ट मेरिजले केभीलाई १२–४ स्कोरले हराएर उपाधि जितेको थियो । ब्याडमिन्टन जुनियर ब्वाइजमा एमआईएसका रायन नाथ पहिलो र आयुश कुशवाहा दोस्रो भए । सिनियर ब्वाइजमा एमआईएका अदित गुप्ताले स्वर्ण र कुशांग्र शरणले रजत जिते । जुनियर गर्ल्समा डीएभीकी युश्मा महर्जनले स्वर्ण र सेन्ट मेरिजकी शिभालिका गिरीले रजत जिते । सिनियर गर्ल्सतर्फ डीएभीकी निभा थापामगरले एमआईएसकी प्रज्ञा बैजनाथलाई हराएर स्वर्ण जितिन् ।
त्यस्तै टेबलटेनिस ब्वाइज टिम इभेन्टमा डीएभीले एपीएफ स्कुललाई ३–० ले हराएर स्वर्ण जित्यो । गर्ल्स टिम इभेन्टको स्वर्ण सेन्ट मेरिजले जित्यो । मेरिजले आयोजक एमआईएस टिमलाई ३–० ले हरायो ।
चेसको सिनियर गर्ल्समा डीएभीका प्रज्ञा पन्त र शिभानी राई पहिलो र दोस्रो हुँदा ब्वाइजतर्फ एमआईएसका आशिष गुप्ता पहिलो र आयुश कुशवाहा दोस्रो भए । जुयिनर गर्ल्समा एमआईएसकी श्रीप्रण दास पहिलो र एनआईएसकी तनिस्का झा दोस्रो भए । ब्वाइजमा केभीका तेजस आनन्द र एमआईएका निवा राई क्रमशः पहिलो र दोस्रो भए ।
क्रिकेटको उपाधि जेम्स स्कुलले जित्यो । जेम्सले फाइनलमा आयोजक एमआईएसलाई ३ विकेटले हरायो । फुटसलको सिनियर ब्वाइजमा डीएभीले एमआईएसलाई ३–२ ले हराएर उपाधि जित्यो । जुयिनर ब्वाइजमा राइ स्कुल विजयी भयो । राइले फाइनलमा एमआईएसलाई ३–२ ले नै हराएको थियो ।
चारदिने एमआईएस कपमा १२ विद्यालयका ६ सय भन्दा बढी विद्यार्थीले ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटसल, बास्केटबल र चेसमा प्रतिस्पर्धा गरेका थिए ।
विजेता टिम तथा खेलाडीलाई एमआईएस स्कुलका अध्यक्ष सरदार प्रीतम सिंह, केन्द्रीय विद्यालयका प्रिन्सिपल ए जेराल्ड, एमआईएका प्रिन्सिपल राजु पिटरले पुरस्कार वितरण गरेका थिए ।
