सुकुटेमा महिला बिच रग्बी हुने

असार ६, २०८२

कान्तिपुर संवाददाता

Women's Inter Rugby will be held in Sukute

काठमाडौँ — बागमती महिला बिच रग्बी प्रतियोगिताको पहिलो संस्करण यही असार ८ र ९ गते हुने भएको छ ।

नेपाल रग्बी संघको आयोजना र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा पहिलोपल्ट हुने बिच रग्बी प्रतियोगिता सिन्धुपाल्चोकको सुकुटे बिचमा हुने भएको छ ।

संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीले प्रतियोगिता अन्तर्राष्ट्रिय ओलम्पिक डे (जुन २३) को अवसरमा हुने बताए । बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । 

प्रतियोगितामा कर्णाली, बागमती र मधेश प्रदेश तथा राष्ट्रिय स्तरका गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लबका गरी ६ टिमले भाग लिने छन् । हरेक टोलीमा ६ खेलाडी रहने बागमती प्रदेश रग्बी संघकी अध्यक्ष बिनु खड्काले बताइन् । एउटा टोलीबाट ५ खेलाडी प्रतिस्पर्धामा उत्रन पाउँछन् ।

प्रतियोगिता सञ्चालन गर्न १३ लाख रुपैयाँ खर्च लाग्नेछ । एसिया रग्बीको बिल्डिङ अ ग्रिनरी फ्युचर थ्रु रग्बीअनुसार ‘ए ट्राइ, ए ट्री’ को अवधारणमा हरेक ट्राइबापत एक बिरुवा रोप्ने रग्बीकी महिला विभाग प्रमुख एलिसा थापाले बताइन् । राष्ट्रिय खेलाडी श्रीराम थापाले जुनियर खेलाडीलाई प्राथमिकतामा राखेर प्रतियोगिता गरिएको बताए ।

कान्तिपुर

Link copied successfully