काठमाडौँ — आयोजक काठमाडौं महानगरपालिका–२६ ले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत तेक्वान्दोको उपाधि शुक्रबार जितेको छ ।
वडा २६ ले ६ स्वर्ण, ५ रजत र १ कांस्यसहित टिम च्याम्पियन ट्रफी जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसहित काठमाडौं महानगरपालिका–११ दोस्रो भयो ।
तेस्रो स्थानको तार्केश्वर नगरपालिकाले २ स्वर्ण, ४ रजत र ६ कांस्य जित्यो । पहिलोले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ रुपैयाँ पुरस्कार पाए । आयोजकका रोहन भुजेल र गोंगबुकी कृतिका देउला उत्कृष्ट खेलाडी भए । दुवैले जनही १० हजार पाए ।
पुरुष ४६ केजीमुनि कामनपा वडा ११ का कैलाश थापा, ५१ केजीमुनि वडा ११ का निश्चल धोली, ३८ केजीमुनि वडा ११ का तपेन्द्र विष्ट, ४२ केजीमुनि वडा २० का राहुलहाङ लिम्बू, ४९ केजीमुनि आयोजकका रोहन भुजेल, ३१ केजीमुनि आयोजकका एकेन्द्र खड्का, २३ केजीमुनि वडा १७ का अंकितमान गुरुङ, २६ केजीमुनि तार्केश्वरका स्वरुपराज पाण्डे, २८ केजीमुनि आयोजकका सुरज श्रेष्ठ र ३५ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेलले स्वर्ण जितेका थिए ।
महिला ३६ केजीमुनि तुख्याकी सुसन्ध्या खड्का, ३९ केजीमुनि वडा ११ की श्रीयुक्ता लामा, ४६ केजीमुनि लैनचौरकी शारदामाया बमजन, ४९ केजीमुनि आयोजककी आकृति गुरुङ, ४२ केजीमुनि ताकेश्वरकी कृति थापा मगर, २४ केजीमुनि आयोजककी आलिया खातुन, २७ केजीमुनि वडा १७ की लिसा तामाङ, ३१ केजीमुनि गोंगबुकी कृतिका देउला, ५२ केजीमुनि आयोजककी सुमिना खड्गी र ३३ केजीमुनि बालाजुकी समिक्षा तामाङले स्वर्ण जिते ।
तेक्वान्दोको पुरुष/महिलामा १०–१० स्पर्धामा २ सय ५९ खेलाडीले भाग लिएका थिए । यसअघि टेबलटेनिस र कराते सम्पन्न भएको थियो । पुरुष फुटसल जारी छ भने एकदिने क्योकुसिन कराते शनिबार टेबलटेनिस प्रशिक्षण केन्द्रमै हुनेछ ।
पुरुष फुटसलमा वडा ५ र तार्केश्वर फाइनलमा पुगेका छन् । लैनचौर खेल मैदानमा वडा ५ ले आयोजक काठमाडौं महानगरपालिका २६ लाई ३–१ गोलले पराजित गर्यो । तार्केश्वरले वडा १३ माथि १–० को जित पायो । फाइनल शनिबार हुनेछ । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार पुरस्कार पाउनेछन् ।
