काठमाडौँ — श्रीलंकाको कोलम्बोमा भएको बिली जिन किङ कप टेनिसमा नेपालले शुक्रबार पाँचौं स्थान हासिल गरेको छ । प्लेअफमा नेपालले ताजकिस्तानलाई २–१ ले पराजित गर्दै पाँचौं भएको टिम अफिसियल अजय विष्टले जनाएका छन् । ताजकिस्तान छैटौं स्थानमा रह्यो ।
पहिलो सिंगल्सको सुरुआती सेटमा सुमाया तुख्तेभाले नेपालकी स्वस्तिका विष्टलाई ७–५ ले पछि पारिन् । त्यसपछि स्वस्तिका ‘रिटायर्ड हर्ट’ भइन् ।
दोस्रो सिंगल्समा नेपालकी सुनिरा थापाले अनिशा याख्येभालाई ७–५, ६–२ ले पराजित गरिन् । डबल्समा सुनिरा र अभिलाषा विष्टको जोडीले साइयोरा राजाबलिभा र सुमायाको जोडीलाई ६–३, ६–१ ले हरायो ।
नेपालले प्रतियोगितामा तीन खेल जित्यो । यसअघि समूह चरणको खेलमा नेपालले म्यानमारलाई २–१ र कतारलाई ३–० ले हराएको थियो । श्रीलंकासँग नेपाल ३–० ले पराजित भयो । नेपाल समूह ‘बी’ मा थियो ।
ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित सात राष्ट्र सहभागी थिए । श्रीलंका पहिलो, तुर्कमेनिस्तान दोस्रो, म्यानमार तेस्रा, पाकिस्तान चौथो र कतार सातौं स्थानमा रहे । श्रीलंकाले ग्रुप २ मा प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । पहिलो हुने राष्ट्र ग्रुप २ मा पुग्ने प्रावधान छ ।
