हेटौंडामा फुटबलको रेफ्री प्रशिक्षण सुरु

असार ६, २०८२

सुवास विडारी

Football referee training begins in Hetaunda

मकवानपुर — हेटौंडामा फुटबलको रेफ्री प्रशिक्षण सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शुक्रबारबाट फुटबल रेफ्री प्रशिक्षण सुरु भएको हो । प्रशिक्षणमा ४१ जनाको सहभागिता रहेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कार्यक्रम संयोजक अमृत लुङ्बाको अध्यक्षतामा भएको तालिमको उद्घाटनमा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । मेयर लामाले फुटबलसहित सबै खेलको पूर्वाधार र प्रतियोगिताका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोग जारी रहने बताइन् ।

उनले रेफ्रीको भूमिकामा व्यवसायिक रुपमा अघि बढ्नका लागि यस प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गरिन् । प्रशिक्षणमा प्रशिक्षकहरु सचिन अमात्य, रोजिन श्रेष्ठ, वीरेन्द्र पाण्डे र कल्पना शर्माले सहजीकरण गर्नेछन् । कोर्समा फिटनेस परीक्षण, प्रयोगात्मक र लिखित परीक्षा हुनेछ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवम् तालिम संयोजक अमृत लुङ्बाले कोर्षपछि फुटबल रेफ्री थप उत्पादन हुने विश्वास व्यक्त गरे । कोर्सपछि आधिकारिक फुटबल खेलाउन योग्य हुने भन्दै उनले सहभागी सबैलाई उतीर्ण हुने गरि लाग्न आग्रह गरे ।

कार्यक्रमको उद्घाटनमा फुटबल संघ मकवानपुरका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टीकाराम लामा, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, एन्फा बागमती प्रदेश महासचिव लवराज ठकुरी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजकुमार मोक्तान, एन्फा मकवानपुर उपाध्यक्ष युवराज भोलन, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully