शनिबारदेखि ‘एसियन बुद्ध टि–१० क्रिकेट प्रतियोगिता’

असार ६, २०८२

दीपेन्द्र बडुवाल

”Asian Buddha T-10 Cricket Tournament” from Saturday

भैरहवा — रुपन्देहीको भैरहवास्थित प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लवको आयोजनामा शनिबारबाट ‘एसियन बुद्ध टि–१० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएका हुन् । प्रतियोगितामा जिल्लास्थित क्रिकेट क्लब र एकेडेमी गरी १४ वटा टिम सहभागी हुनेछन् । सिद्धार्थ क्रिकेट मैदानमा शनिबारदेखि सोमबारसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 

रुपन्देही क्रिकेट संघ तथा क्लवका अध्यक्ष हरिबहादुर थापाले जिल्लास्थित क्रिकेटलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । ‘क्लबले विगतदेखि क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनमा टेवा पुर्‍याइरहेको छ’, उनले भने, ‘यस प्रतियोगिताले रुपन्देहीको क्रिकेट विकास र खेलाडी उत्पादनमा टेवा पुग्ने काम गर्ने हाम्रो विश्वास छ ।’

प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष थापाले बताए । सेमिफाइनल पुग्ने दुइटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने उनले बताए । ‘टिम र खेलाडीको प्रोत्साहनका लागि यसपटक हामीले सेमिफाइनल पुग्ने दुई टिमलाइ पनि पुरस्कार राखेका छौं’, उनले भने । 

आयोजकका अनुसार प्रतियोगितामा प्लेयर अफ द सिरिजलाई नगद १२ हजार रुपैयाँ, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार रुपैयाँ, प्रत्येक खेलमा प्लेयर अफ म्यानलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय रुपैयाँ तथा दर्शकदीर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

प्रतियोगिताको मुख्य प्रायोजक रहेको भैरहवाको एसियन बुद्ध होटलका महाप्रबन्धक ओमप्रकाश पाण्डेले होटलको चौथो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरिएको जनाए ।

‘होटलले सधैं विभिन्न कार्य गरी सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ’, उनले भने, ‘मुलुकलाई विश्वमा चिनाइरहेको क्रिकेटलाई प्रवर्द्धन गर्न पाउँदा थप खुसी भएका छौं ।’ उनले होटलले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे । 

दीपेन्द्र

Link copied successfully