काठमाडौँ — श्रीलंकाको कोलम्बोमा भइरहेको बिली जिन किङ कप टेनिसमा नेपाल समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पराजित भएको छ । समूह ‘बी’ मा रहेको नेपालले बिहीबार श्रीलंकासँग ३–० को हार बेहोर्यो ।
सिंगल्समा अकिसा हिरुन्दी सिल्भा दियुनुगेले नेपालकी शिभाली गुरुङलाई ७–६, ७–६ र दिनारा डी सिल्भाले नेपालकी अभिलाषा विष्टलाई ६–४, ६–२ को सेटमा पराजित गरे । डबल्समा तुभिनी डी अल्भिस र जयविराको जोडीले शिभाली र अभिलाषाको जोडीलाई ६–४, १–६, १०–६ को सेटमा हराएको थियो ।
यसअघि समूह चरणको पहिलो खेलमा नेपालले म्यानमारलाई २–१ र दोस्रो खेलमा कतारलाई ३–० ले हराएको थियो । नेपालले अब पाँचौं स्थानको प्लेअफका लागि ताजकिस्तानविरुद्ध खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।
