काठमाडौँ — एमेच्योर गल्पर राहुल विश्वकर्माले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बुधबार एक्लै अग्रता लिएका छन् ।
गोकर्ण गल्फ कोर्समा बुधबार समग्रमा १६ अन्डर २ सयको स्कोरसहित राहुलले साबिक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुवास तामाङलाई एक स्ट्रोकले पछाडि पारको छन् । राहुलले बुधबार ६ अन्डर ६६ स्कोर बनाएका थिए ।
सुरुआती अग्रता लिएका सुवासले बोगीरहित ५ अन्डर ६७ को स्कोर बनाए । समग्रमा उनी १५ अन्डर २ सय १ स्कोरमा छन् । एमेच्योर सदभाव आचार्यले बुधबार ५ अन्डर ६७ को कार्ड बनाए । समग्रमा १३ अन्डर २ सय ३ स्कोरसहित उनी तेस्रो स्थानमा छन् । मंगलबार सदभाव र राहुलले संयुक्त अग्रता बनाएका थिए ।
समग्रमा ११ अन्डर २ सय ५ को स्कोरसहित नीरज तामाङ र भुवन नगरकोटी संयुक्त चौथो स्थानमा छन् । भुवनले दिनकै उत्कृष्ट ८ अन्डर ६४ को स्कोर बनाए । नीरजले ४ अन्डर ६८ बनाए । भुटानका निमदोर्जी तामाङ समग्रमा ८ अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन् । उनले बुधबार २ अन्डर ७० खेले । उनी एमेच्योरतर्फ तेस्रो स्थानमा छन् । समग्रमा ७ अन्डर २ सय ९ सहित सातौंमा रहेका दिनेश प्रजापतिले बुधबार ४ अन्डर ६८ को नतिजा निकाले ।
समग्रमा ३ अन्डर २ सय १३ सहित शुक्रबहादुर राई, सञ्जय लामा र रवि खड्का आठौं स्थानमा रहे । शुक्रले ३ अन्डर ६९, सञ्जयले २ अन्डर ७० र रविले १ अन्डर ७१ को स्कोर बनाए ।
राहुलले बुधबार फ्रन्टनाइनमा बोगीरहित ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलोदेखि तेस्रो, छैटौं र सातौं होलमा कुल ५ बर्डी प्रहार गरे । यसपछि ११ औं होलमा १ शट खेर फाल्दा १५ र १८ औं होलको बर्डीले ब्याकनाइन १ अन्डर ३५ मा सकेका थिए ।
फ्रन्टनाइनमा ३ अन्डर ३३ र ब्याकनाइनमा २ अन्डर ३४ खेलेका सुवासले तेस्रो, चौथो, नवौं, १२ र १३ औं होलमा बर्डीको पाए । सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्टनाइन ४ अन्डर ३२ मा सके । यसपछि ११ औं होलमा डबल बोगी खेपे । लगत्तै १२ औं होलमा इगलको बनाएका उनले १८ औं होलको बर्डीले ब्याकनाइन १ अन्डर ३५ मा सकेका थिए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख पुरस्कार प्रदान गरिनेछ । विजेताले ३ लाख र दोस्रोले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रो गल्फर नगद पुरस्कार पाउनेछन् ।
