सूर्य नेपाल प्रिमियर गल्फ : एमेच्योर राहुल र प्रो सुवासले लिए अग्रता

असार ३, २०८२

कान्तिपुर संवाददाता

Surya Nepal Premier Golf: Amateur Rahul and Pro Subhas took the lead

काठमाडौँ — एमेच्योर गल्फर राहुल विश्वकर्मा र प्रो गल्फर सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन संयुक्त अग्रता लिएका छन् ।

उनीहरूले समग्रमा १० अन्डर १ सय ३४ को स्कोरमा नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे । राहुलले ७ अन्डर ६५ को प्रदर्शन गर्दा सुवासले ६ अन्डर ६६ को स्कोर बनाए । सदभावले दिनकै उत्कृष्ट ८ अन्डर ६४ को स्कोर बनाए । समग्रमा ८ अन्डर १ सय ३६ स्कोरसहित उनी तेस्रो स्थानमा उक्लिएका छन् ।

समग्रमा ७ अन्डर १ सय ३७ का साथ नीरज तामाङ चौथो स्थानमा छन् । उनले मंगलबार ५ अन्डर ६७ मा खेल सके । भुटानका एमेच्योर खेलाडी निमदोर्जी तामाङ समग्रमा ६ अन्डर १ सय ३८ स्कोरसहित पाँचौं स्थानमा रहे । उनले मंगलबार ३ अन्डर ६९ को स्कोर बनाए । एमेच्योर गल्फर वाङ्चेन ढोन्डुप ४ अन्डर ६८ स्कोरसहित समग्रमा ५ अन्डर १ सय ३९ बनाएर छैटौं स्थानमा उक्लिए ।

समग्रमा ३ अन्डर १ सय ४१ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्त रूपमा सातौं स्थानमा रहे । दिनेशले ३ अन्डर ६९ र भुवनले इभन पार ७२ मा खेल टुंग्याए । कृष्णमान राजबाहक र अघिल्लो दिन अग्रता लिएका रवि खड्का समग्रमा २ अन्डर १ सय ४२ को स्कोरमा संयुक्त नवौं स्थानमा पुगे । कृष्णमानले ३ अन्डर ६९ र रविले ३ ओभर ७५ स्कोरमा दिनको खेल टुंग्याए ।

राहुलले मंगलबार फ्रन्टनाइन बोगीरहित खेले । पहिलो, दोस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै पहिलो ९ होलको खेल ४ अन्डर ३२ खेले । यसपछि उनले ११ औं होलमा एक सट खेर फाले । तर १०, १२, १७ र १८ औं होलको बर्डीले ब्याकनाइन ३ अन्डर ३३ मा सके । सुवासले फ्रन्टनाइन र ब्याकनाइन दुवै ३ अन्डर ३३ बनाए ।‌ उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा शट खेर फाले । यसपछि बोगीरहित ब्याकनाइन खेल्ने क्रममा १० देखि १२ औं होलमा लगातार तीन बर्डी खेल्दा बाँकी ६ होलमा पार बचाए ।

सदभावले फ्रन्टनाइनमा ७ अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे । बोगीरहित फ्रन्टनाइन खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो तथा छैटौंदेखि नवौं होलमा लगातार चार बर्डीको सफलता पाए । ११ र १२ औं होलमा सट बचाएका उनले ४ पारको १८ औं होलमा एक शट खेर फाले । उनले ब्याकनाइन १ अन्डर ३५ मा सके ।

३६ होल समाप्तिमा ६ ओभर १ सय ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन् । सञ्जय लामा, धनबहादुर थापा, शुक्रबहादुर राई, दीपक मगर, विष्णुप्रसाद शर्मा, तोरणविक्रम शाही, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, रामे मगर, रमेश अधिकारी, टंकबहादुर कार्की, राम कृष्ण श्रेष्ठ, वसन्तराज गुरुङ, शिवराम पौडेल र बलभद्र राईले कट बनाए । एमेच्योर गल्फर टासी छिरिङ र पदमहाङ लिम्बू पनि कट बनाएका छन् ।

विजेताले उपाधिसहित ३ लाख, दोस्रोले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ जित्नेछन् ।

कान्तिपुर

Link copied successfully