नन्दन चोटका कारण तीनदेशीय ट्वान्टी–२० शृंखलाबाट बाहिर

असार ३, २०८२

विनोद पाण्डे

Nandan ruled out of tri-nation Twenty20 series due to injury

ग्लास्गो, स्कटल्यान्ड — तीब्र बलर नन्दन यादवले तीनदेशीय ट्वान्टी–२० शृंखलाको बाँकी सबै खेल गुमाउने भएका छन् । स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा सोमबार नेदरल्यान्ड्ससँग खेलेको अन्तिम ओभरमा आफै बलिङमा रहेको समयमा थ्रो बल नियन्त्रणमा लिँदा उनी घाइते भएका थिए ।

नेदरल्यान्ड्स इनिङ्सको दोस्रो अन्तिम बलमा उनलाई दाहिने हातको बुढी औंलामा चोट लागेको थियो । जसका कारण उनले अन्तिम बल फाल्न सकेका थिएनन् । करण केसीले उक्त अन्तिम बल फालेर नेपाली बलिङ इनिङ्स पूरा गरेका थिए ।

घाइते अवस्थामै नन्दनले निर्णायक क्षणमा ब्याटिङमा आई २ चौकासहित अविजित १२ रन बनाएर नेपाललाई नेदरल्यान्ड्सको स्कोरसँगै बराबरीमा ल्याएका थिए । नेपाललाई अन्तिम बलमा विजयका लागि ५ रन चाहिने अवस्थामा नन्दनले चौका प्रहार गरेपछि स्कोर बराबर भई सुपरओभरमा पुगेको थियो । तीन सुपर ओभरको अविश्वसनीय खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो ।

तीनदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले अहिले स्कटल्यान्डसँग खेल्दै छ । तर नन्दन औंलामा ब्यान्डेज गरी मैदानमा देखिएका छन् । नेपाली टोलीका व्यवस्थापक माधव कर्माचार्यले नन्दन शृंखलाको कुनै खेल खेल्न नसक्ने भएको र उनको स्थानमा नेपालबाट कुनै खेलाडी ल्याउने सम्भावना पनि नरहेको जनाए ।

ग्लास्गो आउनुअघि नन्दनले एकदिवसीय अन्तर्राष्ट्रियमा स्मरणीय ‘डेब्यु’ गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा गत साता नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको थियो । नन्दनले सो खेलमा ३ विकेट लिएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully