काठमाडौँ — कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाल काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा मंगलबार फाइनल पुगेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार सेमिफाइनलमा एलिनाले नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा प्रसन्नले आयोजक काठमाडौं महानगरपालिका २६ की मिस्टी श्रेष्ठलाई हराए । पहिलो ३० हजार र १५ हजार पुरस्कार जित्ने छन् ।
महिला टिम कुमुतेमा कामनपा ३१, तार्केश्वर र नागार्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं महानगरपालिका ३१ ले तार्केश्वरसँग सेमिफाइनलमा खेल्नेछ । अर्को क्वाटरफाइनल हुन बाँकी छ । गोकर्णेश्वर र काठमाडौं महानगरपालिका १६ बीचको क्वाटरफाइनल विजेताले सेमिफाइनलमा नागार्जुनको सामना गर्नेछ ।
पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार पुरस्कार जित्ने छन् ।
पुरुष फुटसलमा तार्केश्वर, वडा २३, वडा १६ र वडा ५ क्वाटरफाइनलमा पुगेका छन् । लैनचौर खेलमैदानमा तार्केश्वरले वडा १० लाई ३–१ गोलले पराजित गर्यो । विजेताका सुनिल थापा र रविन चौलागाईंले १–१ गोल गरे । १ गोल आत्माघाती थियो । वडा २३ ले वडा १ लाई २–१ गोलले हरायो । वडा २३ का विशाल श्रेष्ठले गोल गरे । अर्को गोल आत्मघाती थियो । वडा १ का गौरव महर्जनले १ गोल फर्काए । वडा १६ ले वडा ११ लाई २–० गोलले हरायो । वडा १६ का सुविल श्रेष्ठ र आयुश कुँवरले गोल गरे । वडा ५ ले वडा २ लाई २–० गोलले पन्छायो । पुष्कर आचार्य र राकेश श्रेष्ठले गोल गरे ।
