ग्लास्गो, स्कटल्यान्ड — नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डसँगको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ग्लास्गो स्थित टिटउड क्रिकेट मैदानमा स्कटल्यान्डलाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।
स्कटल्यान्डमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल अघिल्लो दिन तीन सुपर ओभरको खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो । आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।
नेपाली टोली घाइते तीव्र बलर नन्दन यादवबिनै खेल्ने छ । उनको स्थानमा बसिर अहमदलाई ल्याइएको छ । देव्रेहाते स्पिनर बसिर उपयोगी ब्याटिङ पनि गर्छन । स्कटल्यान्डले नेदरल्यान्ड्ससँग खेलेको टोलीबाट कुनै परिवर्तन गरेको छैन ।
नेपाली टोलीमा रोहित, कुशल भुर्तेल, लोकेश बम, अनिल साह, दीपेन्द्रसिंह ऐरी, बसिर, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी प्लेयिङ ११ बाट खेलिरहेका छन् ।
नेपाल र स्कटल्यान्ड ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक खेल्न लागेका हुन् । २०१३ मा यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । तर नेपालले त्यत्तिखेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थिएन । तर त्यही छनोटमा स्कटल्यान्डलाई समूह चरणमा १ रनले पछाडि पार्दै नेपाल पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको थियो ।
