काठमाडौँ — नेपालले बिली जिन किङ कप टेनिसमा विजयी सुरुआत गरेको छ । श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको समूह ‘बी’ मा मंगलबार नेपालले म्यानमारलाई २–१ ले पराजित गरेको थियो ।
पहिलो सिंगल्समा म्यानमारकी निलर विनले नेपालकी शिभाली गुरुङलाई ७–५, ४–६, ६–१ ले पराजित गरिन् । अर्को सिंगल्समा नेपालकी अभिलाषा विष्टले टेटे मिन्टलाई ६–२, ६–३ को सोझो सेटमा हराइन् । डबल्समा शिभाली र अभिलाषाको जोडीले थिरी सियोन र निलरको जोडीलाई ७–५, ७–६ ले हराएको थियो । नेपालले बुधबार कतारविरुद्ध खेल्नेछ ।
