तीनदेशीय ट्वान्टी-२० शृंखला : विश्वकप छनोटलाई नेपालको तयारी

ग्लास्गोमा ठूलो संख्यामा नेपाली बस्छन्, नेदरल्यान्ड्ससँग खेल्दा नेपालीको बाक्लो उपस्थिति हुने अनुमान

असार २, २०८२

विनोद पाण्डे

Tri-nation Twenty-20 series: Nepal's preparation for World Cup selection

ग्लास्गो, स्कटल्यान्ड — एक वर्षअघि नेपाली क्रिकेट टोली आजकै दिन वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा बंगलादेशविरुद्ध ट्वान्टी–२० विश्वकपमा खेलिरहेको थियो । नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुग्ने आसमा छ । यसैको तयारी नेपालले स्कटल्यान्डमा तीनदेशीय ट्वान्टी–२० शृंखला खेलेर गर्दै छ ।

आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डले प्रतिस्पर्धा गरेका थिए । नेपालले सोमबार नेदरल्यान्ड्सविरुद्ध खेलेर प्रतियोगिता सुरु गर्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । 

अक्टोबर ८ देखि १७ सम्म ओमानमा एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्रको विश्वकप छनोट हुँदै छ । नेपालसहित, ओमान, यूएई, जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, समाओले यस छनोटमा प्रतिस्पर्धा गर्नेछ र शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछ ।

ओमानको ट्वान्टी–२० विश्वकप छनोटको तयारीका लागि नेपालको यात्रा ग्लास्गोको टिटउड क्रिकेट मैदानबाट सुरु हुनेछ । हाल स्वदेशमा मनसुन रहेको अवस्थामा नेपालको प्रमुख तयारी विदेशमा हुनेछ ।

नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किएको केही समयपछि अस्ट्रेलिया गएर त्यहाँको प्रान्तीय टोलीसँग खेल्ने सम्भावना पनि छ । त्यसबाहेक नेपालले सेप्टेम्बर २७, २८, ३० मा यूएईको शारजहाँमा वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० अन्तराष्ट्रिय शृंखला खेल्ने छ र यहींबाट नेपाली टोली एक सातापछि सुरु हुने ट्वान्टी–२० विश्वकप छनोट खेल्न ओमान पुग्ने छ । 

अघिल्लो साता विश्वकप क्रिकेट लिग–२ मा उच्च प्रदर्शन गरेको नेपाली टोली डन्डीबाट ग्लास्गो आइपुगेको छ । डन्डीमा सनसनी नतिजा निकाल्नेक्रममा नेपालले नेदरल्यान्ड्सविरुद्धको दुवै खेलमा ५ विकेट र १६ रनको नतिजा निकालेको थियो । स्कटल्यान्डसँग भने नेपाल १ खेलमा विजय र अर्कोमा पराजय भोगेको थियो । 

डन्डीमा लिग २ को पहिलो ३ खेल खेलेपछि चोट बोकेका सोमपाल कामी र गुलशन झा नेपाल फर्किसकेका छन् । यसअघि नै नेपालको ट्वान्टी–२० टोलीमा समावेश गरिएका लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह ग्लास्गो आइसकेका छन् । अलराउन्डर किरण अघिल्लो महिना वैकल्पिक खेलाडीको रूपमा हङकङ पुगे पनि खेल्न पाएका थिएनन् । तर नेपाली टोलीका प्रमुख अलराउन्डर सोमपाल र गुलशन नै टोलीबाट बाहिरिसकेको अवस्थामा किरणले ‘डेब्यु’ गर्ने सम्भावना बलियो छ । 

ओपनिङ ब्याटर लोकेशले प्लेयिङ ११ मा खेल्न कुशल भुर्तेल, आसिफ शेख र अनिल साहसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । गत वर्ष कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ विरुद्ध खेलेर लिस्ट ‘ए’ को यात्रा सुरु गरेका ब्याटिङ अलराउन्डर रुपेशले ट्वान्टी–२० अन्तराष्ट्रियमा ‘डेब्यु’ गर्न बाँकी छ । 

लिग २ को अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध डन्डीमा नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा स्मरणीय ‘डेब्यु’ गरेका थिए । उनले नै करण केसीसँग ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको बलिङ मोर्चा सम्हाल्ने छन् । लिग २ मा निराशाजनक प्रदर्शन गरेको नेदरल्यान्ड्सको टोलीमा पनि केही खेलाडी परिवर्तन गरिएको छ । देव्रेहाते अलराउन्डरद्वय डेनियल डोरम र बेन फ्लेचर तथा लेगब्रेक बलर सकिब जुल्फिकरलाई टोलीमा थपिएको छ । 

ग्लास्गो बाक्लो नेपाली रहेको क्षेत्र हो । यहाँका धेरै नेपाली रेष्टुरेन्ट र होटल व्यवसायसँग जोडिएका छन् । शनिबार र आइतबारको व्यस्ततापछि सोमबार रेष्टुरेन्ट र होटल क्षेत्र बिदामा बस्ने गरेका हुँदा नेदरल्यान्ड्ससँगको खेलमा ठूलो संख्यामा नेपाली दर्शक आउने विश्वास गरिएको छ । डन्डीको चार मध्ये दुई खेल आइतबार र सोमबारका दिन हुँदा नेपालको खेलमा दर्शकको राम्रो उपस्थिति थियो । ट्वान्टी–२० शृंखलाको प्रत्येक खेलको टिकट दर २० पाउन्ड राखिएको छ । 

लिग–२ आईसीसीको प्रत्यक्ष रोहबरमा भएको इभेन्ट थियो । यो ट्वान्टी–२० शृंखला स्कटल्यान्ड क्रिकेटले आफैं आयोजना गर्न लागेको हो । तर बेलायत क्षेत्रमा टेलिभिजन र लाइभ स्ट्रिमिङबाट हेर्न महँगो भएको गुनासो नेपाली समर्थकले गरेका छन् ।

ट्वान्टी–२० शृंखलाको एक खेलका लागि ८.९९ पाउन्ड, आफ्नो देशको टोलीको चार खेलका लागि २६.९७ पाउन्ड र प्रतियोगिताको सवै ६ खेलका लागि ३९.९९ पाउन्ड तोकिएको छ, जुन यहाँ स्काई स्पोर्ट्स र बीटीलगायतका टेलिभिजन च्यानलमा प्रमुख प्रतियोगिता आउँदा तोकिएको मासिक दरभन्दा महँगोमा नेपाली समर्थकले गुनासो गरेका छन् ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully